समाचार
नेपाल पत्रकार महासंघ काभ्रेको ३३औँ वार्षिकोत्सव सम्पन्न, ‘पत्रकारिता दर्पण’ र वेबसाइट सार्वजनिक

पुस २ गते बुधबार, २०८२
काभ्रेपलान्चोक । नेपाल पत्रकार महासंघ काभ्रे शाखाले आफ्नो ३३औँ वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। स्थापना दिवसको अवसरमा महासंघले ‘पत्रकारिता दर्पण’ स्मारिका तथा आधिकारिक वेबसाइटसमेत सार्वजनिक गरेको छ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले शाखा तहका सक्रिय कार्यक्रमकै कारण महासंघ सफल हुँदै आएको बताउनुभयो। प्रेस स्वतन्त्रता कुण्ठित हुन नदिन महासंघले निरन्तर भूमिका खेल्दै आएको उल्लेख गर्दै उहाँले समयमै निर्वाचन हुनुपर्नेमा जोड दिनुभयो। छापामाध्यमको महत्त्व नघटेको र विश्वसनीय माध्यम अझै पनि छापा नै भएको उहाँको भनाइ थियो।
काभ्रे शाखाले भवन निर्माण, वेबसाइट सञ्चालन र ‘दर्पण’ प्रकाशन गरेकोमा शुभकामना दिँदै अध्यक्ष शर्माले दर्पणमा काभ्रेको पत्रकारिता इतिहास समेटिएकाले यसले पत्रकारिता अध्ययन गर्ने विद्यार्थी र पेशागत पत्रकारलाई सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। काभ्रे शाखाको भवनलाई केन्द्रीय वा प्रादेशिक तालिम केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धतासमेत उहाँले व्यक्त गर्नुभयो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारु मगरले शुभकामना मन्तव्य राख्दै काभ्रे पत्रकारितामा अग्रणी रहेको बताउनुभयो। पेशागत अधिकार, प्रेस स्वतन्त्रता र श्रम अधिकारका लागि निरन्तर संघर्ष गर्नुपरेको अवस्था रहेको उल्लेख गर्दै उहाँले विश्व परिवेशमै पत्रकारिता धर्मराउने चुनौती बढेको धारणा राख्नुभयो। प्रदेश समितिले सीमित अधिकार र बजेट कटौतीका बीच काम गर्नुपरेको बताउँदै तालिम केन्द्र सञ्चालनका लागि प्रदेशबाट सहयोग जुटाउन पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
भोजराज तिमल्सिनाले पत्रकारिताको इतिहास, चुनौती र तालिम केन्द्रको आवश्यकता बारे आ–आफ्ना धारणा राख्नुभयो।यस्तै अन्य पूर्व अध्यक्षहरू नारायण सापकोटा, महेशराज पौडेल, भोला थापा, ईश्वरी ओझाले पनि शुभकामना मन्तव्य राख्नु भएको थियो ।
पूर्व अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारितालाई समयअनुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिँदै तालिम र प्रशिक्षणको कमीप्रति चिन्ता व्यक्त गर्नुभयो। यस्तै पूर्व अध्यक्ष बद्रीराज तिमल्सिनाले आफ्नै हलमा कार्यक्रम आयोजना गर्न पाएकोमा खुशी व्यक्त गर्दै भवनको थप तला निर्माणपछि महासंघलाई हस्तान्तरण गर्ने अर्को कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।
नेपाल पत्रकार महासंघ बागमती प्रदेश सदस्य तथा सञ्चारिका समूहकी अध्यक्ष सुनिता सापकोटाले संस्थागत सुदृढीकरणमा जोड दिनुभयो। कामना प्रकाशन प्रतिष्ठानकी अध्यक्ष भगवती तिमल्सिनाले महासंघ भवनका लागि जग्गा खोज्ने क्रममा आफूले खेलेको भूमिकाको स्मरण गर्दै संस्थाप्रति आत्मीयता व्यक्त गर्नुभयो।
प्रेस चौतारीका केदार तिमल्सिनाले स्थापना कालदेखि हालसम्म योगदान पुर्याउने अग्रजहरूको प्रशंसा गर्दै विद्युतीय चुनौतीका बीच सबैलाई समेटेर अघि बढ्ने आवश्यकता औँल्याउनुभयो।प्रेस सेन्टर काभ्रेका अध्यक्ष रामप्रसाद ढकालले ‘दर्पण’ ले ३३ वर्षको इतिहास समेट्ने प्रयास गरेकोमा खुशी व्यक्त गर्दै श्रमजीवी पत्रकारलाई समेटेर महासंघले थप भूमिका खेल्न आग्रह गर्नुभयो। प्रेस युनियन काभ्रेका सचिव शुभराज अधिकारीले पाठक, दर्शक र श्रोता घट्दै गएको तथा एआई प्रविधिको हस्तक्षेप बढेकाले पत्रकारहरू सजग हुनुपर्ने आवश्यकता औँल्याउनुभयो। यस्तै जनजाति पत्रकार महािंघका काभ्रे अध्यक्ष इन्द्र बहादुर थापाले जनजाति पत्रकारलाई पनि महासंघले आधिकारिकता दिन अनुराेध गर्नु भयो ।
नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष विनाेद कुमार न्यौपानेले अध्यक्षता गर्नु भएको कार्यक्रममा काभ्रे शाखाका अध्यक्ष विनोद कुमार न्यौपानेले पत्रकारका लागि ५ लाख रुपैयाँको दुर्घटना बीमा घोषणा गर्नुभयो। स्वागत मन्तव्य कपिल कोइरालाले गर्नुभएको थियो भने सचिव नगेन्द्र अधिकारीले कार्यक्रमकाे संचालन गर्नु भयो । कार्यक्रम विभिन्न संघ–संस्थाका प्रतिनिधि र अग्रज पत्रकारहरूको सहभागितामा सम्पन्न भयो।