समाचार
डेडिथुम्का माविमा हुने पूर्व विद्यार्थी सम्मेलन बारे जानकारी दिन पत्रकार सम्मेलन

जेष्ठ ८ बिहीबार ,२०८२
काभ्रेपलान्चोक । मण्डनदेउपुर नगरपालिका वडा नम्बर ९ मा रहेको श्री डेडीथुम्का माविको आगामी जेठ १५ गते हुने पूर्वविद्यार्थी शिक्षा सम्मेलन समितिले बिहीबार पत्रकार सम्मेलन गरेकाे छ।
उक्त विद्यालयमा अध्ययन गरेका बिद्यार्थी शिक्षा, राजनीति, स्वास्थ्य, संचार, समाजसेवा, उद्योगलगायत विभिन्न क्षेत्रमा आबद्ध छन् । पूर्वविद्यार्थीहरुलाई पुनर्मिलन गराउने र नगरपालिकाको शैक्षिक गुणस्तरलाई कसरी सुधार गर्न सकिन्छ भन्नेबारे छलफलका लागि सम्मेलन गर्न लागिएको आयोजक श्री डेडीथुम्का फाउण्डेशनका अध्यक्ष टोमप्रसाद सापकोटाले जानकारी दिनुभयो
आयोजकले दिएको जानकारी अनुसार यस विद्यालयले २०३८ सालदेखि एसएलसीमा आफ्ना विद्यार्थीलाई सहभागीता गराउँदै आइरहेको छ ।
कार्यक्रममा उपस्थित पत्रकारहरुलाई डेडीथुम्का मावि पूर्वविद्यार्थी शिक्षा सम्मेलन मूल समारोह समितिका संयोजक कश्यपप्रसाद पौडेलले प्रेस विज्ञप्ति पढेर जानकारी गराउनु भएको थियो ।
उहाँले यस विद्यालयबाट एसएलसी वा एसइइ दिएका करिब ४ हजार ५०० विद्यार्थीलाई समेट्न सकिन्छ कि भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । यो पहिलो कार्यक्रम भएकाले जति सम्भव हुन्छ त्यतिलाई समेट्दै अघि बढ्ने र पछिल्ला थप कार्यक्रमहरुमा सम्पर्कमा आउने सबैलाई समेट्दै कार्यक्रम गरिने पनि पौडेलले जानकारी दिनुभयो ।
बिहीबारको कार्यक्रममा पत्रकारहरुले सोधेका प्रश्नहरुको आयोजकका तर्फबाट गोकूल गौतमले जवाफ दिँदै सबैलाई सो दिन उपस्थितीका लागि अनुरोध पनि गर्नुभयो
