समाचार
विश्वलाई महामारीबाट जोगाउने अमृत बन्लान् त यी कोरोनाविरुद्धका भ्याक्सिन

प्रभात सिंहः रुसले विकास गरी दर्ता गरेको कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’ अबको हप्ता जनसमुदायमा प्रयोग हुँदैछ । एकैपटक ४० हजार मानिसमा यसको प्रयोग हुँदा अन्तर्राष्ट्रिय रिसर्चसम्बन्धी निकायको समेत नियाल्नेछन् । भ्याक्सिन रुसमा मात्र नभई मेक्सिको र फिलिपिन्स जस्ता देशहरुमा समेत पठाइने भएको छ ।
विश्व नै कोरोना भाइरसको महामारीसँग जुधिरहँदा रुसले निर्माण गरेको भ्याक्सिनको जनसमुदायमा एकैपटक गरिने प्रयोग सफल भएमा मानव जगतकै लागि अमृत सावित हुनसक्छ । मानव अस्तित्वमा आउन लागेको संकटसँग जुध्न कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकासमा रुसका अलावा अमेरिका, युरोप, चीन, भारतलगायतका रिसर्चसम्बन्धी संस्था र औषधी कम्पनिहरु सक्रिय भइरहेका छन् ।
रुसको गोमिलियाले ११ अगष्टमा कोरोना भ्याक्सिनको दर्ताको अवसर पाएको थियो । तर, विश्व स्वास्थ्य संगठनलगायत संस्थाले यसलाई अनुमोदन गर्न बाँकी छ ।

विश्व स्वास्थ्य संगठनको पछिल्लो सुचीमा १६५ थरीका भ्याक्सिन विश्वभर विकासका क्रममा छन् । त्योभन्दा बढी पनि हुनसक्ने तर सबै प्रारम्भिक चरणमा छन् । २३ थरी भ्याक्सिन क्लिनिकल परीक्षणको क्रममा छन् । अरबौं डलर लगानी भइरहेको छ । वैज्ञानिकहरु अहोरात्र खटिएका छन् ।

पुणेस्थित सेरम इन्स्टिच्युट भारतभित्र भ्याक्सिन विकास गर्ने पहिलो कम्पनि हुने जनाइएको छ । सेरमले बेलायतको एस्ट्राजेनेकासँग मिलेर अक्सफोर्ड भ्याक्सिन विकास गरिरहेको छ । सेरमले दोस्रो र तेस्रो चरणको भ्याक्सिनको मानव परीक्षणशुरु गरिरहेको छ । १८ वर्ष माथिका १६ सय मानिसहरुमा भ्याक्सिनको परीक्षण शुरु गरिएको छ ।
भारतमा अन्य भ्याक्सिनको पनि विकास भइरहेको छ । भारत बायोटेक कोभ्याक्सिन र जिडस क्याडिलाजको जिकोभ डिको पहिलो र दोस्रो चरणको परीक्षण चलिरहेको छ । ती कम्पनिहरुले एक हजार देखि ११ सय मानिसमाथि परीक्षण गरिरहेका छन् ।
अक्सफोर्ड भ्याक्सिनको दोस्रो चरणको परीक्षण बेलायतमा सकिएको छ । यसले सकारात्मक नतिजा दिएको बुझिएको छ ।
भ्याक्सिन जतिसक्दा चाँडो बनोस् भन्ने संसारकै चाहना छ । त्यसका लागि रिसर्चरहरुले तपस्या गरिरहेका छन् । धनाढ्यहरु ठुलो लगानी गरिरहेछन् । यो विश्वकै लागि संकटको बेला हो जसबाट पार पाउन कोरोना भाइरसको औषधी वा भ्याक्सिन जतिसक्दो छिटो तयार हुनुपर्ने हुन्छ ।- एजेन्सीको सहयोगमा


