समाचार

सहमति पछि इलामका ५२ चिया उद्योग सञ्चालन

इलाम / स्थानीय तहले बनाएको चियाको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य निर्धारण गर्न नसकिने भन्दै उद्योग नै बन्द गरेका सूर्योदय नगरपालिकाका चिया उद्योगीले आजदेखि उद्योग सञ्चालन गरेका छन् । नगरपालिकासँग शनिबार बेलुका बसेको बैठकबाट सहमति जुटेसँगै आजदेखि चिया उद्योग सञ्चालनमा ल्याइएको हो । नगरपालिकाले तोकेको मापदण्डअनुसार हरियो चियापत्तीको मूल्य दिएमा चिया उद्योग सञ्चालन गर्न नसकिने भन्दै सूर्योदय टी एशोसिएसनमा आबद्ध ५२ वटा चिया उद्योग गत बिहीबारदेखि बन्द भएका थिए । तर ‘हरियो चियाको गुणस्तर मापदण्ड कार्यविधि’ कायम राख्ने तर एउटा चिया उद्योगले अस्वीकार गरेको चिया अर्को उद्योगले नलिने सहमतिपछि उद्योग खुलेका हुन् । “यसभन्दाअघि हामी उद्योगीबीच पनि जथाभावी गुणस्तरहीन चिया किन्ने प्रचलन थियो”, सूर्योदय टी एशोशिएसनका सचिव गोपाल कट्टेलले भन्नुभयो, “अब चाहिँ चियाको गुणस्तर कायम नै राखेर एउटा उद्योगले नलिएको चिया अर्कोले पनि नलिने गरी सहमति भएको छ ।” नगरको कार्यविधिमा किसानले न्यूनतम् ४० प्रतिशत सुइरो भएकै हरियोपत्ती उद्योगलाई बेच्नुपर्ने, उद्योगीले त्यस्तो पत्तीको कम्तीमा प्रतिकिलो ४० रुपैयाँ किसानलाई दिनुपर्ने उल्लेख छ । “कार्यविधिमा भएकै व्यवस्थालाई नगरपालिकाले उद्योगी र किसानसमेत समेटिएको टोली बनाएर अनुगमन गर्ने सहमति भएको छ”, छलफलमा सहभागी सूर्याेदय नगरका आर्थिक समिति संयोजक देवेन्द्र शर्माले भन्नुभयो, “कार्यविधि पालना गर्दा चियामा आफसेआफ गुणस्तर कायम हुन्छ ।” अनुगमनका लागि चिया विस्तार आयोजनाका प्रमुख रामअवतार साहको संयोजकत्वमा १३ सदस्य समिति बनाउने सहमति भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *