समाचार

रुँदै मलेसियामा बस्ने नेपालीले भने, आटो खान परेपनि नेपालमै बस्नु झुक्किएर पनि मलेसिया नआउनु

मलेसियाको रोजगारी खुल्न ढिलाइ भईरहँदा मलेसियामा कार्यरत नेपालीले भनें मलेसियाको रोजगारी भन्दा स्वदेशमा नै केहि काम गरेर बस्नु उचित हुने बताएका छन् । उनीहरुले मलेसियामा असुरक्षा देखि काम गरेको तलव नपाउने, बस्ने ठाउँ राम्रो नदिइने लगायतका समस्याका कारण स्वदेशमा नै काम गर्न सुझाव दिएका हुन् । विगत अढाई बर्षदेखि मलेसियाको पाहाङमा कार्यरत भीम उदासले आफूले सोचेको मलेसिया र यहाँको वास्तविकता बीच आकाश जमिनको फरक रहेको बताए । उनले मलेसियामा नेपाली माथि धेरै भेदभाव हुने गरेको भन्दैै कम्पनीले पनि राम्रो व्यवहार नगर्ने गरेको बताए । मलेसियामा समग्र विदेशी कामदारमाथि राम्रो व्यवहार नहुने गरेको भन्दै कहिले खुुल्ला र मलेसिया आउन पाइएला भनेर नपर्खिन आग्रह गरे ।

उनले आफू तीन बर्षे सम्झौता सकिएपछि नेपाल फर्किने र बाख्रा पाल्ने योजनामा रहेको बताए । उनले नेपालको कमाई बुझ्न विदेशको दुःखले सिकाएको भन्दै अव कहिल्यै नविदेशिने समेत धारणा राखे । मलेसियामा गतिलो कमाई हुन्छ भनेर नेपालमा एजेण्टलाई ठूलो रकम बुझाएर आउनेहरु यहाँ आइसकेपछि निक्कै चुकचुकाउने गरेका छन् । होम श्रेष्ठ मलेसियाको रोजगारी फाइदाजनक नभएको भन्दै यहाँ कमाएको आधा पैसा त एजेण्टलाई तिरेको उठाउँदैमा सकिने र बाँकी आधा कमाई कुनै ठूलो नहुने बताउँछन् । उनी मलेसिया आउनेले एक डेढ बर्षको खटाई सित्तैंमा जाने भन्दै धेरै पैसा खर्च गरेर आउनु अघि १० पटक सोच्न आग्रह गरे । उनले भने- बरु स्वदेशमा नै खनिखोेस्री गरिखाउ तर मलेसिया चैं नआउ । मलेसियामा ४ बर्ष देखि कार्यरत छविन तामाङ अव कहिल्यै नफर्किने गरी नेपाल फर्किने तयारीमा छन् ।

मलेसियामा काम गर्ने कामदार चरम शोषणमा पर्ने गरेको भन्दै काम गर्न आउजाउ गर्दा यातायातको सुविधा नहुनु, उचित पारिश्रमिक नपाउनु, बिरामी पर्दा कम्पनीले कुनै वास्ता नगर्नु र बस्ने ठाउँ पनि भेडाबाख्रा पाल्ने गोठ जस्तै हुनुु मलेसियामा काम गर्ने नेपालीले भोग्ने साझा समस्या भएको धारणा राख्छन् । मलेसियामा काम गर्ने विदेशी कामदारलाई सुरक्षाको पनि उत्तिकै समस्या रहेको छ । क्वालालम्पुरमा भेटिएका सर्लाहीका विवेक गौतम मलेसियामा झण्डै तीन बर्षदेखि कार्यरत छन् । उनी कमाउने सपना बोकेर मलेसिया नआए पनि हुने भन्दै ज्यान बचाएर घर फर्किन मुस्किल हुने बताउँछन् । एक पाइप उद्योगमा काम गर्ने उनी ज्यानको बाजि थापेर तामिलबाट ज्यान बचाउनु ठूलो कुरा भएको बताउछन् । उनको कुरामा पत्रकार सुदीप निउरे पनि सहमत छन् ।

मलेसियामा रोजगारी गरेर फर्केका चितवनका पत्रकार निउरे आफैं समेत एकपटक लुटपाटमा परे । होष्टलमा नै आएर प्रहरीले नै लुटेको बताउने निउरे आफूहरुले हालेको उजुरीको कुनै सुनुवाई नभएको अनुभव सुनाउँछन् । उनी भन्छन्, मलेसियामा चोरले मात्र होइन स्वयं प्रहरीले दिउसै लुट्छ, डेढ बर्ष अघि मेरो नेतृत्वमा रहेको होष्टलमा १६ जना नेपालीलाई एकैपटक लुटिएको थियो । उनी बिदेशी कामदारका लागि मलेसिया नर्क जस्तै बनेको भन्दै मानवियता शुन्य रहेको धारणा राख्छन् । यसअघि १० बर्ष शासन चलाएका रज्जाकको कार्यकालमा बिदेशी कामदारले अमानवियताको हद कतिसम्म तल हुने रहेछ भन्ने अनुभव गरेको उनको भनाई छ । त्यसैले नेपाल र मलेसियाबीच श्रम सम्झौता भएको खुशीयाली मात्र मनाएर नपुग्ने भन्दै उनी मलेसयामा नेपाली कामदार पठाउन थाल्नु अघि त्यहाँ कामदारको मानवअधिकार हनन नहुने प्रत्याभूति हुनु र रज्जाकले बिकास गरेको आपराधिक गतिविधिको दलदल सुधार हुनु जरुरी देख्छन् । साभार : गोर्खाली खबर

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *