समाचार
काठमाडौंबाट छुटेको यात्रुवहाक बस दुर्घटनामा पर्यो
खोटाङ । खोटाङमा यात्रुवहाक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् । काठमाडौंबाट खोटाङको दिक्तेल आउँदै गरेको बस हलेसीमा दुर्घटना हुँदा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा्चिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते बनेका राईको एम्बुलेन्समार्फत उपचार गराउन जिल्ला अस्पताल दिक्तेल ल्याउने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
घाइतेमध्ये चालकसहित सातलाई थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल पठाइएको छ भने बाँकीको जिल्ला अस्पताल दिक्तेलमा उपचार भइरहेको छ । चालक र सहचालकसहित १५ यात्रु सवार ना४ख ७४११ नंको बस गएराति ११ बजे हलेसी तुवाचुङ नगरपालिका–७ रिट्ठाबोटेमा दुर्घटना भएको हो ।
दुर्घटनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७, दोर्पा्चिउरीडाँडाका ३२ वर्षीय प्रजबहादुर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाका घाइतेको नाम अहिलेसम्म खुल्न सकेको छैन ।
बस सडकबाट चिप्लिएर १५–२० मिटर तल झरेपछि कोल्टिएर अड्किएकाले ठूलो क्षतिबाट जोगिएको इलाका प्रहरी कार्यालय हलेसीले जनाएको छ । सहचालक ओत हाल्न ओर्लिकाले दुर्घटनाबाट जोगिएको प्रहरीले जनाएको छ ।



