पत्रपत्रिकाबाट
उपत्यकामा प्रहरीको ‘हप्ता असुली’, भट्टीदेखि हुन्डीसम्म

काठमाडाैं। ‘हप्ता असुली’ प्रहरीले गुन्डालाई लगाउने आरोप हो । तर, प्रहरीभित्रै पनि यस्तो गतिविधि चल्ने गरेको छ । अवैध गतिविधिको संरक्षण गरेबापत प्रहरीले आफैँ पनि हप्ता असुल्ने गर्छन् । राजधानीमा प्रहरीका पछिल्ला घुसकाण्डले त्यही भन्छन् ।
शनिबार साँझ घुससहित पक्राउ परेका बौद्ध वृत्तका डिएसपी श्यामकुमार राईले सामान्य भट्टीदेखि बालुवा कारोबारीसँग नियमित पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । एक बालुवा व्यापारीसँग उनले वृत्तमा गएको केही हप्तामै २ लाख ५० हजार रुपैयाँ लिएका थिए । बालुवा ओसार–पसारमा अनावश्यक दुःख नदिने सर्तमा व्यापारीले उनलाई पैसा दिएका थिए ।
पछि फेरि डिएसपीले टिभी किनिदिन आग्रह गरे । पहिले नै धेरै पैसा बुझाएकाले ती व्यापारी टिभी किनिदिन तयार भएनन् । पछि डिएसपी राईले सोनी ब्रान्डको ७० इन्चको टिभी आफैँले किनेको र त्यसको बिल तिरिदिन भन्दै १ लाख ४० हजार रुपैयाँ मागे । पटक–पटक मागेपछि ती व्यापारीले अख्तियारलाई खबर गरेर शनिबार पैसा दिएका थिए । पैसा लिएलगत्तै उनी कार्यकक्षबाटै पक्राउ गरे ।
भट्टीदेखि हुन्डीसम्म
प्रायः अवैध गतिविधिमा संलग्न व्यक्तिले प्रहरीलाई नियमित पैसा बुझाउने गर्छन् । भट्टी चलाउनेदेखि हुन्डीको कारोबार गर्नेसम्म पैसा बुझाउनेमा पर्छन् । कतिपय अवस्थामा बेलुका ढिलासम्म प्रहरीले रेस्टुरेन्ट तथा डान्सबार खोल्न दिएर पैसा लिने गरेको छ ।
कतिपय होटेलमा वेश्यावृत्ति हुने गरेको छ । त्यस्ता ठाउँमा प्रहरीले संरक्षण गरेर समेत पैसा लिने गरेको छ । हुन्डी तथा डलरको अवैध कारोबार गर्ने ठाउँबारे स्थानीय प्रहरीलाई जानकारी हुन्छ । तर, यसमा प्रहरीले चासो नदिई आर्थिक लाभ लिने गरेको छ । कतिपय प्रहरी त गुन्डागर्दीमा संलग्नसँग समेत मिल्ने गर्छन् ।
यस्तै ठाउँबाट पैसा लिनका लागि वृत्त तथा प्रभागका प्रमुखहरू आफूनिकट प्रहरीलाई घुमुवाका रूपमा राख्ने गर्छन् । सबैजसो वृत्तमा अपराध अनुसन्धानका लागि अपराध महाशाखाको शाखा भए पनि वृत्तले छुट्टै घुमुवा टोली परिचालन गर्दै आएको छ । महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेले उपत्यकाका प्रभाग तथा वृत्तका प्रहरीहरू निगरानीमा रहेको र गलत गर्नेलाई कारबाही गर्दै आएको बताए ।
यस्तै, काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले उजुरी बढेपछि आन्तरिक शुद्धीकरणलाई तीब्रता दिएको बताए । सोही क्रममा परिसरको टोलीले सोमबार मात्रै महानगरीय प्रहरी वृत्त कमलपोखरीका एक प्रहरी अधिकारीलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । घुस खाएको उजुरी परेपछि ती अधिकारीलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको स्रोतको भनाइ रहेकाे छ । अाजकाे नयाँ पत्रिकामा खबर रहेकाे छ ।




