पत्रपत्रिकाबाट

कुखुरा नपाल्ने गाउँ !

मकवानपुर / हिमाल, पहाड होस् वा तराई, अधिकांशले कुखुरा पाल्ने गर्छन् । थोरैले व्यावसायिक र धेरैले परम्परागत ढंगले कुखुरा पालिरहेकै छन् ।
तर मकवानपुरको उत्तरी क्षेत्रमा यस्ता गाउँ छन् जहाँ कुखुरा पाल्ने त कुरै छाडौं, छुन पनि छुँदैनन् । मासु र अन्डा पनि खाँदैनन् । कुुखुराको साटो हाँस पाल्छन् । थाहा नगरपालिका वडा १ र १० का कुन्छाल गाउँ, नुलगाउँ र टौखेलमा प्राय: ले हाँस पालेकै हुन्छन् ।

यी बस्तीमा गोपाली समुदायको बसोबास उल्लेख्य छ । एकनासे घर भएका कुन्छाल बस्तीमा पुस्तौंदेखि नै कुखुरा पाल्ने चलन छैन । ‘भाले बास्यो भने गाउँमा रोगब्याधी लाग्ने, असिना परी बाली नष्ट हुने विश्वासले कुखुरा पाल्दैनौं,’ थकालीसमेत रहेका कुन्छाल गाउँका ७८ वर्षीय चन्द्रबहादुर गोपालीले भने, ‘हाम्रो समुदायलाई भाले बासेको नफाप्ने भएकाले कुखुरा नपालेका हौं ।’

यहाँका गोपाली समुदाय कुखुरापालन नगरे पनि अन्य व्यवसायमा भने संलग्न छन् । केही युवा भने लुकेरै कुखुराको मासु खाने गर्छन् । दशकअघि कुन्छालका एक युवाले कुखुरा पाल्न खोज्दा चन्द्रबहादुरलगायत गुठीका व्यक्तिले पाल्न दिएनन् ।

‘कुन्छाल, टौखेल र नुलगाउँका गोपालीहरूले कुखुरा पाल्दै पाल्दैनन्,’ स्थानीय शिक्षक नीराजन गोपालीले भने, ‘कुखुराको मासु मात्र होइन, अन्डासमेत खान पाइँदैन, भोज भतेर र गुठी पूजालगायत अन्य कर्ममा हाँसका अन्डा चढाइने गरिन्छ ।’ अन्तरजातीय विवाह गरे कुलभित्र पस्न दिइँदैन । कथं बिहे गरी जन्मेका सन्तानको मृत्यु भए दाहसंस्कारका लागि स्थान पनि दिइँदैन । आजको कान्तिपुर दैनिकमा खबर रहेकाे छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *