समाचार

कानूनमन्त्री तामाङलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने कांग्रेस महिला सांसद तथा नेतृहरुको चेतावनी (विज्ञप्तीसहित)

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महिला सांसद तथा नेतृहरुले कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङलाई कडा भन्दा कारबाही गर्न माग गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलन गरेर सांसदहरुले यस्तो माग गरेका छन् ।

कांग्रेसकी केन्द्रीय सदस्य एवम प्रतिनिधिसभा सदस्य डा. डीला संग्रौलाले नारीको अस्मिता मिच्ने र काूननको धज्जी उडाउने खालका अभिव्यक्ति दिने कानूनमन्त्री तामाङको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरिन् ।

उनले भनिन्,‘वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाईरहेको छ, अधिनायवादी र अपहरणवादी शैलीमा आफ्ना क्रियाकलापहरु अघि बढाईरहेको छ, पछिल्लो समयमा प्रधानमन्त्री र मन्त्रीहरु के बोल्ने र के नबोल्ने ? भन्नेबारे जानकार छैनन्।’

सरकारकै मन्त्रीहरुले नारीहरुको अस्मितामाथि प्रश्नचिन्ह खडा गरिहरको आरोप लगाउँदै उनले थपिन्,‘बंगलादेशमा चिकित्सा शिक्षा पढ्न गएका नेपाली चेलीहरुले शरिर सुम्पेरमात्रै मार्कसिट प्राप्त गर्छन भन्नेजस्ता गैर–जिम्मेवार र अपमानपूर्ण अभिव्यक्तिहरुको सरकारले की पुष्टि गर्नुपर्यो, होईन भने जथाभाबी बोल्ने मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।’

त्यस्तै सांसद लक्ष्मी परियारले सरकारले कानून बमोजिम कानूनमन्त्रीलाई कारबाही नगरे सडक र संसद एकसाथ ठप्प पार्ने चेतावनी दिएकी छिन् ।
उनले भनिन्,‘सरकार, सरकारका मन्त्री र सरकारका आसेपासेहरुले कानून तथा नियमको ख्याल नगरी नारीको अस्मितामाथि धावा बोल्ने काम गरिहरको छन्, यो हामीलाई स्विकार्य छैन, २१ शताब्दीको महिलाका प्रगतिहरुलाई ओझेलमा पार्ने र हेपहा मनस्थितिले आएका गैर–जिम्मेवारपूर्ण अभिव्यक्तिहरुको हामी घोरभत्र्सना र बिरोध गर्दछौं, माफी र मन्त्रीको राजीनमाले मात्रै पुग्दैन, उनलाई कानुन अनुसार कडा सजाय हुनुपर्छ ।’

कार्यक्रममा अर्की सांसद विजया श्रेष्ठ केसीले कानूनमन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई सरकारले कडा कारबाही गर्नुपर्ने बताएकी छिन् ।
उनले भनिन्,‘बंगलादेशमा पढ्न गएका नारीहरुले फेशबुकमा लेखेका छन्, हामी पढ्न आएका हौं, अस्मिता बेच्न आएका होईनौं, दोषीलाई कारबाही होस्, यस्ता शब्दहरुले हामीलाई पोलीरहेको छ, बंगलादेशका प्राध्यापकमाथि र नेपाली चेलीहरुमाथि उठेका प्रश्नहरुको उचित जवाफ सरकारले दिनु्पर्छ, यदि जवाफ दिन नसकेको खण्डमा हाम्रो आन्दोल उचित उत्तर नपाएसम्म जारी रहनेछ ।’

प्रदेश सभाका सांसदहरु निर्मला क्षेत्री, कल्पना नेपाली, राधा घले, महिला नेतृहरु रजनी जोन्छे, नानू बास्तोला शिवाकोटी, गंगा दाहाल, गंगा अधिकारी, सरु बानियाँ लगायतकले कानून मन्त्री र मेडिकल सञ्चालक दुर्गा प्रसाईलाई कारबाही गर्न सरकारसमक्ष जोडदार माग गरेका छन् ।

प्रेस विज्ञप्ती
आदरणीय पत्रकार साथीहरु,

बङ्गलादेशमा मेडिकल शिक्षा अध्ययनरत छात्राहरु प्रति कानुनन्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङ्ग तथा बिएन्डसी अस्पताल बिर्तामोडका प्रबन्धनिर्देशक दुर्गा प्रसाईले दिएको गैर जिम्मेवारपूर्ण अभिव्यक्ति प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

सरकारका जिम्मेवार मन्त्रीले नै अध्ययनका लागि बंगलादेश गएका नेपाली चेलीहरुप्रति लगाएको आरोप घृणित र अपमानजनक छ ।

कानुमान्त्री तामाङले भनेको बंगलादेशमा अध्ययन गर्न जाने नेपाली चेलीहरुले सर्टिफिकेट लिनका लागि कहिँ न कहिँ आफूलाई बेच्नैपर्छ भन्ने भनाईप्रति घोर आपत्तिप्रकट गर्दछौँ । बिना प्रमाण मन्त्री तामाङले दिएको यस्तो अभिव्यक्तिको आधार पुष्टी गर्न निज मन्त्री र सरकारलाई चुनौति दिन्छौँ । मन्त्रीको यो भनाईले बंगलादेशमा चिकित्सा शिक्षा पढ्न जाने चेलीहरुको मनोवैज्ञानिक र सामाजिक क्षेत्रमा नकारात्मक सन्देश प्रवाह भएको छ ।

यस्ता भनाई र आरोपले नेपाली छोरीहरुको अस्मिताहरु माथि मात्रहोइन सम्पुर्ण, नेपालीहरुको स्वाभिमानमाथि नै प्रश्नचिन्ह खडा गरेको छ । मन्त्री तामाङ्गको आरोपले छात्राहरुको मानसिक, सामाजिक र उनीहरुको भावनामापुगेको चोट एवम् सम्पुर्ण नेपाली महिलाहरुको अस्मिता माथि पुग्नगएको ठेस प्रति नेपाल सरकारले कसरी क्षतीपुर्ती गर्ने हो यस तर्फ प्रधानमन्त्रिको धारणा सार्वजनिक गरियोस् । मेडिकल छात्राहरुको परिवार जन, नेपाली समाज, बंङ्गलादेशी प्राध्यापकहरुको मानहानी प्रति विश्व सामुदायको ध्यान आकर्षित गर्न चाहन्छौ ।

शारिरीक सम्बन्ध स्थापित नगरी एमबिबिएसको प्रमाणपत्र पाईन्न भन्ने दुर्गा प्रसाई र कानुनमन्त्री शेर बहादुर तामाङ्गको भनाईको आधार पुष्टी गरियोस्, यदि त्यसो नभए नेपाल सरकारले बङ्गलादेशका मेडिकल शिक्षाका प्राध्यापकहरुलाई अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाली न्याय निरुपण गरियोस भन्ने जोडदार माग गर्दछौँ ।

सरकारका मन्त्रीले नै यस्तो गैर जिम्मेवार अभिव्यक्ति दिँदा नेपाल र बंगलादेश बीचको कुटनीतिक सम्बन्धमा समेत दरार आउन सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराउँदछौँ । मन्त्री जस्तो गरिमामय पद सम्हाल्ने तामाङ र मेडिकल शिक्षा प्रदान गर्छु भनेर कलेज खोल्ने दुर्गा प्रसाईको यस्तो अभिव्यक्तिले उनीहरुको दरिद्र वौद्धिकता प्रदर्शन भएको छ । यस्ता व्यक्तिले कुनै पनि जिम्मेवारी बहन गर्न नसक्ने भएकाले मन्त्री तामाङले तत्काल राजिनामा दिनुपर्छ । साथै बिएन्डसी अस्पताल बिर्तामोडका प्रबन्धक निर्देशक दुर्गा प्रसाईलाई कडा कारबाही गर्न सरकारसमक्ष माग गर्दछौँ ।

यस्ता असमाजिक र अमानवीय व्यक्तिहरुको संरक्षण कुनै पनि पार्टीले गर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो । यदी सरकारले कानुनीकारवाही गरेन भने वा ढाकछोप गर्ने प्रयन्त गर्छ भने हामी सदन र सडकबाट एकसाथ कडा प्रतिवाद गर्ने कुराको सबैमा जानकारी गराउदछौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *