स्वास्थ्य
डा. देवकोटाले जन्मघरको पिँढीमा आराम गरी एक घुड्की पानी पिएर फर्किए

पित्तथैलीको क्यान्सरले थलिएका वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटा शनिबार थोरै तंग्रिए । आफूलाई हल्का महसुस भएको भन्दै यही मेसोमा पुर्ख्याउली थलो गोरखा पुग्ने इच्छा देखाए । तत्काल परिवार र उपचाररत चिकित्सकले गोरखाको पालुङटार नगरपालिकास्थित बोहरागाउँ पु-याउने मेसो मिलाए । दिउँसो २ बजे नेपाली सेनाको पब्लिक हेलिकोप्टर ‘नाइन एन आरएआई’बाट पुख्र्यौली घरतर्फ लगियो । केहीबेरमै पु-याइयो ।
पुर्ख्याउली थलोमा एक घन्टा
बोहरागाउँस्थित देवकोटाको पुख्र्यौली घरमा कोही बस्दैन । चाबी विगतदेखि नै छिमेकीको जिम्मामा छ । आवश्यक पर्दा मात्रै ढोका उघ्रिन्छ । शनिबार पुरानो घरको ढोका उघ्रिने दिन प-यो । डा. उपेन्द्रलाई ल्याइँदै छ भन्ने थाहा पाएपछि सयौँ आफन्त र गाउँले पुरानो घरको ढोका उघारेर प्रतीक्षामा थिए । घरनजिकै हेलिप्याड पनि बनाइसकेका थिए उनीहरूले ।
मुखमा लगाएको अक्सिजन क्याप नखोली उपेन्द्र जन्मघरको आँगनमा पुगे । सहजताका लागि पिँढीको खाटमा राखियो । अँध्यारो अनुहार लगाउँदै झुम्मिएका आफन्त र गाउँले शुभचिन्तकलाई डा. उपेन्द्रले चिन्ता नलिन इसारा गरे । सक्दा सासले बोले, नसक्दा इसाराले ।
उही पुरानो मूलको पानी पिउने उनको अर्को प्रमुख इच्छा थियो । सिस्नेधाराको पानी पिउने इच्छा काठमाडौंमै सुनाएका थिए । खाटमा बिसाइएका उनका लागि सिस्नेधाराको पानी गिलासमा ल्याइयो । चम्चाले पिलाइयो । एक घुड्की घुटुक्क पारे । आफूसँगै गएका चिकित्सक र पाइलटलाई बोहरागाउँबारे हल्काफुल्का जानकारी दिने कोसिस पनि गरे । सिस्नेधाराको पानी पिउन आग्रह गरे । बाँसबारी न्युरो अस्पतालका जनसम्पर्क अधिकृत काशीराज घिमिरेका अनुसार डा. उपेन्द्रले आफूसँगै गएका चिकित्सकहरूलाई गाउँ, गाउँको मन्दिर र सिस्नेधाराको मूलसमेत देखाएका थिए ।
गोरखा लाने र काठमाडौं ल्याउने जिम्मा मेडिसिटीको
डा. उपेन्द्रको यो इच्छा पूरा गर्ने जिम्मा नेपाल मेडिसिटी अस्पतालका चिकित्सकले लिएका थिए । उक्त अस्पतालमा कार्यरत आपत्कालीन अवस्थामा उद्धार गर्ने तालिमप्राप्त डा. सञ्जय कार्कीको नेतृत्वमा दुईजनाको टोली सँगै गएको थियो । देवकोटाका तीन छोरी र केही डाक्टर त्रिभुवन विमानस्थलबाट अर्को हेलिकोप्टरमा बिहान ११ बजे नै बोहरागाउँ पुगेका थिए । श्रीमती मधु देवकोटा र मेडिसिटीको रेस्क्यु टोली देवकोटालाई लिएर अपराह्न उडेका थिए । एक घन्टा जन्मघरमा राखेपछि साँझ काठमाडौं नै फर्काइयो ।
‘आफू जन्मेको घर टेक्ने इच्छा देखाएपछि हामीले उहाँको चाहना पूरा गरेका हौँ,’ डा. उपेन्द्रका भतिज वसन्त देवकोटाले भने, ‘उहाँले स्वास्थ्यमा सुधार देखिएको भन्दै आफू जन्मे–हुर्केको र बाल्यकाल बिताएको ठाउँ पुग्न चाहन्छु भनेपछि लगेका हौँ ।’
कसरी थला परे डा. उपेन्द्र ?
१० मंसिर ०७४ मा निर्वाचनको माहोल थियो । एक दिन उनी अचानक लडे । तत्काल उनी उपचारका लागि लन्डन गए । क्यान्सरको आशंका गरिएपछि उनको लन्डनस्थित किंग्स कलेज हस्पिटलमा उपचार भयो । पित्तनलीमा क्यान्सर देखिएपछि उनले सोही अस्पतालमा ५ महिना उपचार गराए । तर, उपचार सम्भव नदेखिएपछि केही समयअघि स्वदेशमै बाँकी समय उपचार गर्दै बिताउने उद्देश्यसाथ फर्किए । उनको उपचार बाँसबारीस्थित न्युरो अस्पतालमा डा. सुवास लोहनी, डा. सुरज खुलुङलगायत डाक्टरले गरिरहेका छन् ।


