स्वास्थ्य

छाला र मस्तिष्कको सम्बन्ध

डा. अपर्णा कोइराला बस्नेत
टिचिङ हस्पिटल

नागरिक परिवारले चर्म रोग विशेषत्र डा. अपर्णा बस्नेत कोइरालालाई उपचार अनुभूति बताउन आग्रह ग-यो । उनले अनुभूती बताउन मन गरिनन् । उनको धारणा छ, उपचारका क्रममा कुनै डाक्टरले मात्रै एक्लै क्रेडिट लिन मिल्दैन । ‘मेरा कारणले फलानो विरामीलाई यस्तो फाइदा भयो भन्नै मिल्दैन्’, उनको धारणा छ– ‘कुनै पनि विरामी निको हुनुमा चिकित्सकको भन्दा नर्स र सिस्टरहरुको ठूलो भुमिका हुन्छ। उहाँहरुको सहयोग, निरन्तरको सेवा र उपचारले मात्र कुनै पनि विरामी समयमै निको हुन्छ।’

त्यसैले उनको उपचार अनूभुती वा उनले उपचार गरेर निको भएका विरामीहरुका बारेमा आफ्ना अनुभव खुलेर बताउन चाहिनन्। बरु एउटा छाला विशेषज्ञका रुपमा पहिचान बनाएकी उनले समग्र नेपाली समाज, नेपाली परम्परा, देखिएका छालाका रोगका बारेमा आफ्ना धारणा बताउन तयार भइन्।

डा. अपर्णाको हालै ‘फलेन इन लभ’ नामक उपन्यास बजारमा आएको छ। यस उपन्यासमा आफूले चिकित्सा क्षेत्रमा रहँदा गरेका अनुभव र देश तथा समाजलाई बुझ्ने क्रममा गरेका अनुभूतीलाई उपन्यासको आकार दिएकी छिन्।

उनले छाला रोग, यसको गम्भीर प्रकृति र अन्य विषयका बारेमा यसरी खुलेर बताइन्ः

हाम्रो समाज र सरसफाई

सफाई सभ्यताको प्रतीक हो । हाम्रो समाजमा सफा गर्ने आफ्नै तरिका छन् । कतिपय सामान्य कुरामा हामीले ध्यान नदिँदा विभिन्न प्रकारका रोगहरु लाग्ने गर्छन् । छाला हाम्रो शरीरको बाहिरी भाग हो र यसमा विभिन्न किसिमका कीटाणुले प्रत्यक्ष रुपमा आक्रमण गरिरहेको हुन्छ । सरसफाईले नै हामीलाई ती कीटाणुबाट जोगाइरहेको हुन्छ । हाम्रा पुर्खाले समाजमा सफाईको महत्व बुझेका हुनाले कुन बेला नुहाउने, नङ काट्ने, कहाँ फाल्नेजस्ता अनेकौ नियम बनाएका थिए । अहिलेको जस्तो आधुनिक सरसफाईका सामग्रीको अभावका बेला ती निकै कामलाग्दा चिजबिज थिए ।

पारम्परिक सफाईका उम्दा उपाय

हामी धेरैलाई के लाग्छ भने हाम्रो समाजमा गरिने सफाई का विधि गलत छन् । यो मान्यता पूरै गलत हो । खासगरी पश्चिमा मिडिया र बानी व्यवहारमा बिस्तारै भिज्न थालेका हामीलाई त्यस्तो लागेको वा त्यस्तो भान पारिएको हुनसक्छ । तर हाम्रा पारम्परिक सफाईका विधि निकै राम्रा थिए । जस्तो पहिले पहिले माटोले हात धुने चलन थियो । यो चलन गलत होइन किनभने हिजोआज छालामा केही समस्या देखियो भने प्राकृतिक उपचार विधि अपनाइन्छ । क्ले थेरापी त्यही प्राकृतिक उपचारको एउटा माध्यम हो ।
त्यस्तै तोरीको शुद्ध तेलले हाम्रो शरीरमा मसाज गर्ने चलन पनि छ । यसो गर्दा छालालाई फाइदा गर्छ । नरिवलको तेलले बिरामी छालालाई पनि फाइदा पु-याउँछ । यस्तो राम्रो विधिलाई केही ‘जान्नेबुझ्ने’ले गलत भनेको सुनेकी छु तर त्यस्तो भन्न मिल्दैन । हाम्रो परम्परादेखि नै तोरी र नरिवलको तेल जिउमा लगाउने चलन छ । तोरीको तेलले छालालाई केही कालो बनाउँछ तर त्यो स्वस्थकर हुन्छ । नरिवलको तेल तोरीको तेलभन्दा राम्रो हो । यसले तोरीको तेलजस्तो कालो बनाउँदैन ।

म कामको सिलसिलामा कैलाली जिल्ला पनि पुगेकी थिए । त्यहाँका परम्परागत विधिहरु अत्यन्तै उपयोगी थिए । मैले त्यहाँका स्थानीय दाजुभाइ दिदीबहिनीलाई पनि यही बुझाउने प्रयास गरेँ ।
हामीले परम्परागत विधि अपनाउँदा पनि छालालाई पूरा सफा राख्न सक्छौँ । साबुन नै प्रयोग गर्नुपर्छ भन्ने छैन ।

साबुन पनि खराब हुनसक्छ

साबुनको अत्यधिक प्रयोग हामीले रोक्नुपर्छ । आवश्यकताभन्दा बढी साबुन प्रयोग गर्दा यसले छालालाई सुख्खा बनाउँछ । खासगरी कमसल र सस्तो खालका साबुनले छालालाई खस्रो बनाउँछ । छाला स्वस्थ बनाउन यसलाई सुक्खा हुन दिनु हुँदैन । हाम्रो छालालाई स्वस्थ बनाउनेबारे टिभीमा यति धेरै विज्ञापन दिइन्छ कि साबुनकै कारण हाम्रो छाला स्वस्थ हुन्छ भन्ने भ्रम सर्वसाधारणलाई परेको छ । यस्तो सोच पूरै गलत हो । धेरै धुँवाधुलोबाट काम गरेर आएको छ भने साबुन प्रयोग गर्नु ठीकै होला तर जतिबेलै साबुन प्रयोग गर्नु हुँदैन ।

कस्ता बिरामी कुन बेला आइपुग्छन् ?

अस्पतालमा बिरामी सबैभन्दा अन्त्यमा आउने गर्छन् । कहीँकतैबाट पनि आफ्नो समस्या समाधान भएन भने अस्पतालमा जाने चलन छ । समस्या सुरु भएको केही समयभित्रै आउने व्यक्ति नगन्य हुन्छन् । झन् हाम्रो गाउँघरमा त कुरै बेग्लै हुन्छ । सुरुमा परिवारका सुझाव सुनिन्छ । त्यसले समाधान भएन भने गाउँका ठूलाबडाका उपाय सुनिन्छ । त्यसले पनि काम गरेन भने स्थानीय हेल्थपोस्ट जाने चलन छ । त्यहाँबाट पनि पार लागेन भने बल्ल अस्पताल जाने चलन छ ।

यतिञ्जेल हाम्रो छालाको समस्या यति विकराल भइसकेको हुन्छ कि अस्पताल भर्ती गराएर मात्रै त्यो समाधान गर्नुपर्ने अवस्थासमेत आउन सक्छ ।

मैले कतिपय केसहरु कस्तो देखेकी छु भने नचाहिँदा औषधि खाएर रियाक्सन भएको हुन्छ । छालाभरि विमिरा र पानी फोका निस्केका हुन्छन् । छाला पूरै डढेकोजस्तो देखिन्छ । शरीर पुरै रातो भएको हुन्छ । कतिको अवस्था त कति नाजुक हुन्छ भने मुखबाट समेत खाना खान सक्तैनन् र स्लाइन पानी चढाउनुपर्ने हुन्छ ।

औषधिको दुरुपयोग

पोतो आयो भन्यो, मलम चलायो । त्यो मलम केही समय लगाउँदा अनुहार उज्यालो हुन्छ । गोरो पार्दोरहेछ भन्ने भ्रमले लामो समय त्यो मलम लगाउँदा पूरै अनुहार बिग्रिएको पनि मैले देखेकी छु । त्यस्ता क्रिमले केही दिन सञ्चो भए पनि दीर्घकालमा नकारात्मक असर पार्छन् । अनुहार पूरा रातो भएको हुन्छ, छाला उप्किएको हुन्छ, छाला पातलो हुँदै जान्छ । छाला फाट्न थाल्छ । बिरामीले ‘मेरो त अनुहार किन यस्तो भएको ?’ भनी सोध्नुहुन्छ । ‘तपाईंले के मलम लगाउनुभयो ?’ भनेर सोध्दा ढाँट्ने चलन छ । पछि हामीले सम्झाउँछौँ अनि मात्र उहाँहरुले स्वीकार्नु हुन्छ । यस्तै गलत औषधिको प्रयोगले अनुहारको स्थिति बिग्रिएको हो भन्दा उहाँहरु छाँगाबाट खसेजस्तो हुनुहुन्छ ।

हामीले सधैँ के कुरा याद गर्नु पर्छ भने औषधि भनेको कुरा चाहिएको बेला औषधि हो नत्र त त्यो विष हो । त्यसैले सानै औषधि किन नहोस्, डाक्टरको सल्लाहमा मात्र प्रयोग गर्नु उचित हुन्छ ।

हामीले कसरी लगाउने भनेर सिकाएर पठाएका हुन्छौँ । डाक्टरको रिफर बिना औषधि पसलबाट किनेर कहिले पनि प्रयोग गर्न हुँदैन । यस्ता कुरामा ख्याल गरिएन भने बिगार गर्छ । छालाको रोग अन्य अङ्गमा पनि सर्छ, इन्फेक्सन हुन्छ ।

उपचार प्रक्रिया

खासमा छालाको रोग लाग्नुको विविध कारण हुनसक्छन् । अन्य रोगका कारणले पनि छालालाई असर पारिरहेको हुन सक्छ । त्यसकारण हामी सम्बन्धित डाक्टरहरु छलफल गर्छौं । अनि कुन तरिकाले अगाडि बढ्ने भनेर सल्लाह गर्छौं किनभने शरीर भित्रको रोगले पनि बाहिरी छालालाई प्रत्यक्ष असर गरिरहेको हुन्छ ।

छालाको स्याहार

हाम्रो छालाले आफ्नो स्याहार आफैँ गर्छ । अति फोहोर भएको अवस्थामा साबुन पानीले सफा गर्नु एउटा पक्ष हो तर ठीकैको अवस्थामा छालाले आफ्नो सफाईका लागि एउटा मेकानिजम बनाएको हुन्छ । यसले एक किसिमको तेल बनाउँछ । यो तेल हाम्रो छालाको कोषबाट निस्कदा शरीरका विषाक्त चिजहरु पनि निकालिरहेको हुन्छ । साबुनको अत्यधिक प्रयोगले छालाको यो आफ्नो प्रक्रिया अवरुद्ध हुन पुग्छ र सुक्खापन बढाउँछ । अति सुख्खापन बढ्दै जाँदा यसले छालासम्बन्धी अन्य रोग पनि निम्त्याउँछ । विज्ञापनहरुमा पनि साबुनको धेरै प्रयोग गर्नुपर्ने सुझाव दिइन्छ । त्यो गलत हो । छालालाई नरम बनाउने छालाको आफ्नो मेकानिज्म र प्रक्रियालाई काम गर्न दिनुपर्छ । बरु त्यसको सन्तुलन मिलाउन तेल लगाउने, मालिस गर्ने गर्नुपर्छ । नरिवलको तेल लगाउँदा बिरामी छालाका लागि राम्रो हुन्छ । घाममा आङ सेक्ने गर्नुपर्छ । स्वस्थ खाना खाने र शारीरिक कसरत हुने काम गर्नुपर्छ ।

छालाको अनौठो रोग (स्लोरोसिस)

यो छालाको अनौठो रोग हो किनभने यो रोग तपाईंको जिनमा जे छ, त्यहीअनुसार हुन्छ । तपाईं जन्मँदा नै यो रोग यति समयमा लाग्छ भनेर कोडिङ भएको हुन्छ र अन्ततः तपाईंको शरीरमा त्यो देखिन्छ नै ।
यस रोगमा दाग बस्ने, रातो हुने, चक्काजस्तो देखिने हुन्छ । माछाको कत्लाजस्तो पनि कसैकसैलाई देखिन्छ । यसमा सेतो पाप्रा निस्कन्छ । शरीरभरि नै यस्तो आउन पनि सक्छ । केहीलाई आधाउधि पनि आउन सक्छ । त्यसबेला अस्पतालमा भर्ना गरेर कडा औषधि दिनुपर्ने हुन्छ । सोरियासिसले मानिसलाई धेरै मनोवैज्ञानिक असर पार्छ ।

रोकथामको उपाय

सोरियासिस रोग लागेका बिरामीले चिकित्सकले सुझाएका औषधि खाने र लगाउने मात्र होइन, अन्य कुरामा पनि सचेत हुनुपर्छ । जस्तो, चुरोट रक्सी नलिने । मानसिक तनाव नलिने । चिसोबाट बच्ने ।

छाला र दिमागको सम्बन्ध

छाला र दिमागको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । हुन त कुनै पनि रोग लाग्नुमा दिमागको प्रत्यक्ष सम्बन्ध हुन्छ । त्यसकारण बिरामीले मानसिक तनाव लिनु हुँदैन । त्यसका लागि मेन्टल रिल्याक्स गर्नुपर्ने हुन्छ । मानसिक तनाव छ भने जुनसुकै रोग भए पनि बढ्न जान्छ । झन् स्लोरोसिस त अलिकति बढी तनाव लिनेबित्तिकै बढ्न थालिहाल्छ । त्यसैले चोटपटक, चिन्ता र चुरोट–रक्सी बिल्कुलै नलिन हामी सचेत गराउँछौँ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *