स्वास्थ्य

किन आउँछ मुखमा घाउ ? कसरी जोगिने ?

मुखमा विभिन्न कारणले घाउ आउन सक्छ। कसैलाई तातो चिजले पोलेर घाउ हुनसक्छ भने कसैलाई खानाको एलर्जी या कसैलाई वंशाणुगत कारणले घाउ हुन सक्छ। सबै घाउ हानिकारक नभए पनि कुनै भने शरीरका अन्य रोगका कारण हुन सक्छन्।

कतिपयमा अल्सर या क्यान्सरको कारण पनि हुन सक्छ । त्यसैले उपचार गर्नुअघि घाउको कारण पत्ता लगाउनु आवश्यक छ ।

मुखमा घाउ यी कारणले आउन सक्छन्
१. मुखभित्र चोटपटक लागेर
२. तातोले पोलेर
३. एप्थस अल्सरका कारण
४. क्यान्सर लागेर

मुखभित्रका चोटपटकले हुने घाउ अचानक टोकिँदा, कृत्रिम दाँतले बनाएका, ब्रेसेसको तारले कोरेर, किराले खाएका दाँत फुटेर धारिलो हुँदा जस्ता कारणले गाला तथा जिब्रोमा घाउ हुन सक्छ ।

यस्तै, सही तरिकाले दाँत नमाझ्दा पनि गिजा तथा गालामा घाउ हुन सक्छ । चोटपटकले बनाएका घाउ र अन्य घाउ छुट्याउनुपर्छ । अर्कोतिर दाँत दुखेका बेला घरेलु रुपमा प्रयोग गरिने ल्वाङको तेल गिजामा पर्दा पनि घाउ हुन सक्छ । यो निको हुन समय लाग्छ । अरु केमिकलको प्रयोगले मुख तथा जिब्रोमा घाउ हुन सक्छ ।

तातोले बन्ने घाउ
तातो चिज खाएर हुने घाउलाई ‘इलेक्ट्रिसिटी थर्मल’ भनिन्छ । कुनै मानिसमा बिजुलीको तार दाँतैले टोक्ने चलन हुन्छ । कहिलेकाहीँ त्यस्तो तारमा करेन्ट आउँदा पनि घाउ हुन सक्छ ।

एप्थस अल्सर
केही मानिसमा पटक–पटक मुखमा घाउ आउने समस्या हुन्छ, यसलाई मेडिकल भाषामा ‘एप्थस अल्सर’ भनिन्छ । यो अल्सर हुनुको कारण अझैसम्म पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा गिजा, ओठ, जिब्रो, जिब्रो मुनि, जिब्रो माथि जुनसुकै ठाउँमा पनि घाउ आउन सक्छ । कसैलाई यो समस्या निरन्तर देखिन्छ भने कसैलाई वर्षमा एकपटक देखिने हुन्छ ।

यो अल्सर मुखको गिजा, ओठ, जिब्रो, जिब्रोमुनि, जिब्रोमाथि जुनै ठाउँमा पनि आउन सक्छ । यो घाउ कुनैबेला ठूलो आकारमा देखापर्छ भने कुनै बेला धेरैको संख्यामा आउने गर्छ। कतिको मुखमा यो समस्या सधैंभरि पनि देखिन सक्छ । यो घाउ किन आउँछ भन्ने कारण पत्ता लगाउन नसकिए पनि वंशाणुगत, तनाव, खानाको एलर्जी, रोग प्रतिरोधी क्षमता कमजोर जस्ता कारणले आउन सक्छ ।

भिटामिन, खनिज पदार्थको कमीले पनि घाउ आउन सक्छ । तनावका बेला घाउ आउन सक्छ । तर यस्तो घाउ तनाव घटेपछि आफैं निको हुन्छ । केहीमा भने एचआइभी, यौनरोगजस्ता कारणले गर्दा घाउ आउँछ । केहीमा भने औषधिले गर्दा पनि मुखमा घाउ आउँछ । क्यान्सरले गिजा तथा जिब्रोमा घाउ आउन सक्छ । विशेषतः चुरोट, सूर्ति खाने मानिसमा यस्तो समस्या देखिन्छ । मुखमा घाउ आएर एक–दुई हप्तामा निको भएन भने क्यान्सर हुनसक्ने सम्भावना बढी हुन्छ ।

मुखमा घाउ पार्ने चिज छन् भने सबैभन्दा पहिले ती चिज हटाउनुपर्छ । चोटपटकका घाउका लागि पेनकिलर प्रयोग गरिन्छ । संक्रमण भएर आएको घाउका लागि एन्टिबायोटिकको प्रयोग गरिन्छ । क्यान्सर छ भने पहिले मासुको जाँच गरेर त्यहीअनुसार किमोथेरापीको प्रयोग गरिन्छ । केही अवस्थामा शल्यक्रिया पनि गरिन्छ । ओरल क्यान्सर प्रायःजसो पुरुषमा देखिन्छ । विशेगरी गुट्का, पानपराग, सुपारी खानेहरुलाई मुख क्यान्सर हुने सम्भावना बढी हुन्छ ।

त्यसैले मुखमा कसरी घाउ आएको हो, मुखको पनि कुन अंगमा आएको छ, कुन प्रकृतिको छ जस्ता विषयमा सचेत हुनुपर्छ । मुखको घाउ भनेर बेवास्ता गर्नुहुन्न । कुनै घाउ गम्भीर प्रकृतिका पनि हुन्छन् । समयमै चिकित्सकलाई देखाउने र रोग पहिचान गरेर उपचार गर्ने हो भने सजिलै र छिट्टै निको पार्न सकिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *