प्रवासविश्वसमाचार

सञ्चार क्षेत्र पुनर्संरचनाका लागि राष्ट्रिय आमसञ्चार प्राधिकरण गठनको प्रस्ताव

२०८३ असार ४ बिहीबार
काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले सञ्चार क्षेत्रको समग्र पुनर्संरचना गर्न माग गर्दै सूचना तथा सञ्चारमन्त्रीसमक्ष सुझावपत्र पेश गरेको छ।

संघले पछिल्ला दुई दशकमा नेपालको आमसञ्चार क्षेत्र तीव्र रूपमा विस्तार भए पनि पत्रकारिताको विश्वसनीयता, श्रम अधिकार, पत्रकार सुरक्षा तथा सञ्चार क्षेत्रको प्रभावकारी व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको उल्लेख गरेको छ। डिजिटल तथा सामाजिक सञ्जालमा आधारित सञ्चार माध्यमको विस्तारसँगै नयाँ नीतिगत तथा संरचनागत सुधार आवश्यक भएको संघको निष्कर्ष छ।

सुझावपत्रमा आमसञ्चार व्यवस्थापन ऐन अन्तर्गत सञ्चार क्षेत्रको केन्द्रीय नियामक तथा व्यवस्थापकीय निकायका रूपमा राष्ट्रिय आमसञ्चार प्राधिकरण स्थापना गर्न प्रस्ताव गरिएको छ। प्राधिकरणले सञ्चारमाध्यम दर्ता, नवीकरण तथा वर्गीकरण, पत्रकार तथा सञ्चारकर्मीको मान्यता र अभिलेख, पत्रकार सुरक्षा तथा कल्याण, क्षमता विकास, डिजिटल सञ्चारमाध्यम व्यवस्थापन, तथ्य परीक्षण प्रणाली तथा सरकारी विज्ञापनसम्बन्धी मापदण्ड कार्यान्वयनलगायतका कार्य गर्ने प्रस्ताव गरिएको छ।

त्यस्तै प्राधिकरण अन्तर्गत सञ्चारमाध्यम दर्ता तथा नियमन विभाग, सञ्चार उजुरी इजलास, पत्रकार मान्यता तथा अभिलेख विभाग, राष्ट्रिय पत्रकारिता प्रशिक्षण प्रतिष्ठान, पत्रकार सुरक्षा तथा कल्याण केन्द्र, राष्ट्रिय तथ्य परीक्षण तथा सूचना विश्वसनीयता केन्द्र तथा सञ्चार अध्ययन तथा नीति अनुसन्धान केन्द्र रहने सुझाव दिइएको छ।

संघले वर्तमान ऐन, नियम तथा संरचनामा सामान्य संशोधन मात्र पर्याप्त नहुने भन्दै सञ्चार क्षेत्रको समग्र सुधारका लागि नेपाल सरकार र सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराएको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *