समाचार

सालीन विद्रोह र गहकिला कविता : ‘तालीको समाजशास्त्र’को साहित्यिक विमर्श

 

साउन २४ शनिबार ,२०८२
काठमाडौं। कवि विश्व सिग्देलको कविताकृति ‘तालीको समाजशास्त्र’माथि परिचर्चा गरिएको छ ।सुनकोसी वा्ङ्मय प्रतिष्ठानले शुक्रबार ठमेलमा एक कार्यक्रम आयोजना गरि कृतिकाे चर्चा गरिएको हो । उक्त कार्यक्रम कवि श्यामलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।

परिचर्चा कार्यक्रममा श्यामलले अत्यन्तै सम्भावना भएका कविको रुपमा विश्व सिग्देलको चर्चा गरे। कविताले कुनैपनि व्यक्तिको नीजि व्यक्तित्व निर्माण गर्ने भन्दै विश्वको व्यक्तित्व उनका कविताहरुले निर्माण गरेको बताए। कृति वर्तमान समयमा पनि उतिक्कै सान्दर्भिक भएको भन्दै उनले भने- ‘म विश्वका कवितासँग अभिभूत भएको छु । साँस्कृतिक चेतना र लघुताभाष भैसकेको सन्दर्भमा घिनलाग्दो परिपाटी मञ्चबाट शुरु हुन्छ।’ साहित्यकारले परम्परा तोड्नुपर्नेमा उनको जोड थियो । उनले भने- ‘समयको मूल्यलाई नमान्ने कवि हुनसक्दैन् । बिम्वहरुको जञ्जालले कविता जटिल हुन्छ योबाट कवि जोगिनुपर्छ।’ उनले नेपाली कवितको स्थान कहाँ छ भन्ने बुझ्न विश्व साहित्य बुझ्नुपर्ने बताए ।

परिचर्चाकार आर एम डंगोलले तालीको समाजशास्त्रमा शक्तिशाली कविताहरु भएको बताए । उनले भने- ‘कवितामा विश्व छुट्टै पहिचान बनाउन सफल देखिएका छन् । थोरै लेख्ने तर गहकिला कविता लेख्ने कविको रुपमा सिग्देललाई चिनिन्छ। अरुको अधिनमा हामी कसरी गाँजिदै गैरहेका छौं भन्ने कुरा कविताले प्रष्ट पार्छन् ।

समाजका जटिल यथार्थहरुलाई टिपेर कविता लेख्ने कविले कृतिभित्र यस्तै विषयका ४५ थान कविता रहेका छन्’ भन्दै यसमा समाजका विभिन्न तहमा रहेका विकृति र विसङ्तिलाई उजागर गरिएको बताए डंगोलकाे भनाइ रहेको थियो ।

अर्का चर्चाकार सुधा मैनालीले भनिन्- ‘कवितामा छुट्टै पहिचान बनाएका कवि विश्वका कविता सामाजिक विषयवस्तुमा आधारित भएर विषयगत विविधता सहित सालीन विद्रोह गरेको पाइन्छ।’ शिर्षकको औचित्यमाथि चर्चा गर्दै सुधाले अगाडि भनिन्-‘आजको २१ औं शताब्दीको सभ्य,उन्नत र विकसित समाजको तालीलाई दासत्वको यात्राको रुपमा दर्शाएको छ । कविताहरुमा सामाजिक विकृति र विचलनप्रति व्यङ्ग प्रहार गरिएका छन् । गहन विचारहरु आएका छन्।’।’

सुनकोसी वा्ङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा महासचिव प्रदीप सापकोटाले सहजीकरण गरेका थिए । साथै स्वागत मन्तव्य सदस्य पूर्णबहादुर श्रेष्ठले राखेका थिए। साथै कार्यक्रममा कविहरु अमाेद काफ्ले , रमि प्रिया र चन्द्र बहादुर लामाले तालिकाे समाजशास्त्र संङ्ग्हबाट कविताहरु वाचन गरेका थिए ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *