
साउदी / साउदीले कर्फ्यूको अवधि अनिश्चितकालका लागि लम्ब्याएको छ । कोरोना भाइरसको संक्रमण रोक्न गत मार्च २३ मा जारी गरेको २१ दिने कर्फ्यूको अवधि अर्को सूचना नभएसम्मका लम्व्याएको साउदीस्थित नेपाली दूताबासले जनाएको छ ।
कोरोना संक्रमितहरुको संख्या बढेसंगै थप सावधानी अपनाउन आवश्यक भएकाले कर्फ्यूको समय थप गरिएको हो । साउदीका विभिन्न १३ क्षेत्रहरुवीचको आवागमनमा लागेको प्रतिवन्ध समेत यथावत रहेको दूताबासले जनाएको छ ।
हवाइजहाज, रेल तथा बसलगायतका सार्वजनिक यातायातका साधनहरुबाट एक स्थानबाट अर्को स्थानमा सजिलै र शीघ्र यो रोगको संक्रमण हुने भएकाले अहिले नियमित हवाई सेवा तथा अधिकांश सार्वजनिक यातायतहरु बन्द भएका छन् ।
व्यक्तिगत स्पर्श र व्यक्ति व्यक्तिबीच आवश्यक दुरी कायम नहुँदा संक्रमण एक व्यक्तिबाट अर्कोमा शीघ्र हुने हुँदा सामाजिक दुरी कायम गर्न दूताबासले साउदी अरबमा रहेका सम्पूर्ण नेपाली समुदायलाई अपिल गरेको छ ।
साउदीमा कोरोना भाइरसबाट संक्रमितको संख्या ४ हजार ४६२ पुगेको छ । साउदीमा कूल संक्रमितहरु मध्ये हालसम्म ७ सय ६१ जना निको भएका छन् भने अहिलेसम्म संक्रमणबाट ५९ जनाको मृत्यु भएको छ । थप नेपालीहरुमा संक्रमण नभएको दूतावासले जनाएको छ ।



