बिचार/ब्लगसमाचार

कविता “एल्गोरिदमको हावा”

“एल्गोरिदमको हावा”

– शिशिर भण्डारी

आजकाल
आकाशमा
चराहरूभन्दा बढी शब्दहरू उडिरहेका छन् ।
तर ती शब्दको पखेटामा
गन्तव्य छैन ।

उनीहरू उड्छन्,
ठोक्किन्छन्,
चिच्याउँछन्,
र आफ्नै प्रतिध्वनिको भित्तामा ठोकिएर
रगताम्य भएर झर्छन् ।

बागमती किनारमा
एउटा पुरानो पीपलको रूख उभिएको छ ।
उसले धेरै देखेको छ –
राणाहरूको साँझ,
क्रान्तिहरूको बिहान,
र सपनाहरूको दाहसंस्कार ।

आज पनि ऊ उभिएको छ ।
तर उसका जरामुनि
माटो होइन,
एल्गोरिदमको हावा बगिरहेको छ ।
र हावामा
कुनै विचार उम्रिँदैन ।

मानिसहरू
आ–आफ्ना हातमा
मोबाइलका स्क्रिन बोकेर हिँडिरहेका छन् ।
उज्यालो प्रशस्त छ ।
तर अनुहारहरू
पहिलेभन्दा धेरै अँध्यारा छन् ।
सायद
उज्यालो बाहिर मात्र छ,
भित्र होइन ।

शहरभरि
ठुलाठुला स्वरहरूको मेला लागेको छ ।

चिच्याइ चिच्याइ –
कोही कराइरहेको छ,
कोही गाली गरिरहेको छ,
कोही न्याय बेचिरहेको छ,
कोही क्रान्ति ।

तर भीडको बीचमा
“एउटा प्रश्न”
अनाथ बालकझैँ
सबैको खुट्टामुनि कुल्चिँदै
आफ्नो अस्थित्व खोज्दै छ ।

एक समय
विचारहरू
हिमालजस्ता थिए –
मौन,
तर आकाश धान्ने ।

अहिले
विचारहरू
बादलजस्ता भएका छन्—
आकार धेरै,
गहिराइ कम ।
हावाले जता लैजान्छ,
उतै बग्ने ।

म देख्छु –
आकाशमा
पोस्टरहरू टाँसिएका छन् ।
नाराहरू टाँसिएका छन् ।
आश्वासनहरू टाँसिएका छन् ।
तर चिरिएको आत्मामा
कसैले मलम राखेको छैन ।

रात गहिरिँदै छ ।
चेतनाको गाउँमा
दीयोहरू एक-एक गरी निभिरहेका छन् ।

पुस्तकहरू
धमिरासंगको निद्रामा
आफ्नो इतिहास बर्बराइरहेका छन् ।
प्रश्नहरू
ठुलाठुला स्वरमा
आफ्नै घाँटीमा झुन्डिएका छन् ।
र विवेक
कतै टाढा
निर्वासनमा गएको छ ।

तर पनि
सबै उत्तरहरू मरेका छैनन् ।
कतै गहिरो मौनताभित्र
एउटा प्रश्न अझै जीवित छ ।

सायद कुनै बिहान –
कुनै बालकले
स्क्रिनभन्दा बाहिरको संसार भेट्टाउनेछ ।
“कुनै युवाले
भीडको उज्यालो छोडेर
सत्यको एक्लो बत्ती समाउनेछ ।”
अनि
लोकप्रियता भन्दा सत्य रोज्नेछ ।
र कुनै कविले
भीडभन्दा अलग उभिएर
समयलाई प्रश्न गर्नेछ ।

त्यसपछि –

ज्ञानले आँखा खोल्नेछ,
विवेकले निर्वासनबाट फर्किएर
आफ्नो घर चिन्नेछ,
र सत्यले
धुलोले ढाकिएको समयको ऐनामा
आफ्नो अनुहार पुनः देखाउनेछ ।


बिर्सिएको चेतनाको ढोकामा
फेरि एकपटक –
मानिसको पदचाप सुनिनेछ ।
विचारको,
चेतनाको,
मानिस हुनुको ।

– २०८३ असार ३ गते ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *