समाचार

वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले बगर बन्दै धुर्सेनी बस्ती

मुसिकोट, १३ भदौ  : रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–११, मङ्गरा गाउँबाट दिनहुँ झर्ने पहिराका कारण धुर्सेनी बस्ती बगरमा परिणत हुन थालेको छ । यस वर्ष वर्षा शुरु भएसँगै अविरलरुपमा झर्ने पहिराले यहाँको बस्ती र उत्पादनयोग्य खेतबारी बगरजस्तै देखिन थालेका हुन् ।गाउँमाथिबाट खस्ने पहिराले स्थानीयका अधिकांश खेतमा ठूलो क्षति पुगेको र बस्ती नै बगर बन्ने खतरामा रहेको स्थानीयवासी चन्द्र विकको भनाइ छ । उहाँका अनुसार मङ्गरा र धुर्सेनी गाउँका झण्डै १५० घरपरिवारसमेत पहिराको उच्च जोखिममा परेका छन् । पहिरो खस्ने ठाउँका मुहान फुट्दा पानी नपरेको समयमा पनि निरन्तर पहिरो झर्ने भएकाले मङ्गरा गाउँका स्थानीय बासिन्दालाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ ।

पहिराले बस्तीनै जोखिममा परेपछि ज्यान जोगाउनसमेत मुस्किल परेको एक स्थानीय जिराकुमारी रिजालको भनाइ छ । पहिराले राडीज्यूला हुँदै नेपालगञ्ज–काठमाडौँलगायत ठाउँमा आवातजावत गर्ने यात्रुलाई पनि दुःख दिने गरेको छ । दिनहुँ खस्ने पहिराले यहाँको सडक अवरुद्ध हुँदा धेरैजसो यात्रु बीच बाटोमै अलपत्र पर्ने गरेका छन् ।मङ्गरा गाउँदेखि झर्ने पहिरो धुर्सेनी बस्तीको दुवैतर्फको भागबाट बग्ने गरेकाले यस क्षेत्रका स्थानीयको करीब १५ हेक्टर खेतीयोग्य जमीनमा समेत क्षति पुगेको छ । गत वर्ष प्रदेश सरकारको सहयोगमा सडक विस्तार गर्ने क्रममा गाउँमाथिबाट डोजर प्रयोग गरिएकाले यस क्षेत्रमा पहिराको जोखिम बढेको हो । पहिराले यहाँको टारखोला, सुवाखोला, कैनखोलालगायत पानीका मुहानसमेत बगाउँदा खानेपानीको समस्या देखिएको छ ।

गत वर्ष साउन २८ देखि भदौ ४ गतेसम्म परेको पानीसँगै यसक्षेत्रमा पहिरो खस्न शुरु गरेको थियो । यस वर्षसमेत सोही स्थानबाट ठूलो पहिरो झर्ने गरेकाले स्थानीयवासीमा वर्षेनी चिन्ता थपिँदै गएको छ । गत वर्ष मात्र पहिराले धुुर्सेनीका १५ घरमा नोक्सान गरेको थियो । यो वर्ष पनि पहिराले धुर्सेनी र मङ्गरा गाउँमा ठूलो क्षति पु¥याएकाले पहिरो रोकथाम गर्न प्रदेश सरकारसँग माग गरिएको वडाध्यक्ष हस्ते आग्रीले बताउनुभयोे । गत वर्षमात्र करीब रु एक करोड बजेटले यहाँको पहिरो प्रभावित क्षेत्रमा तारजाली लगाइएको थियो तर यस वर्षको पहिराले पुनः सबै तारजाली बगाइसकेको वडाध्यक्ष आग्रीको भनाइ छ ।(रासस)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *