समाचार
उर्लाबारीमा दलित युवतीमाथि बलात्कार, घाइते अवस्थामा उद्धार गरेर उपचार
माेरङ / फेसबुकमा साथी बनाएर मोरङको उर्लाबारी नगरपालिका–१ मा एक दलित युवतीमाथि बलात्कार गरिएको छ । मोरङ प्रहरी प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इलामको चुलाचुली–६ घर भई उर्लाबारीमै बस्दै आएका २१ वर्षीय संगम राईले फेसबुकमा चिनजान भएकै आधारमा पिछा गर्दै गएर २१ वर्षीय दलित युवतीमाथि बलात्कार गरेका हुन् । खेतमा काम गरेर घर फर्कदै गरेको अवस्थामा राईले गत शुक्रबारराति ९ बजे एक्लै भएको मौका छोप्दै एकान्त ठाउँको झाडीमा लगेर बलात्कार गरेको श्रेष्ठले बताए । प्रहरीका अनुसार बलात्कार गरेर युवतीलाई घाइते बनाएपछि राई घटनास्थलबाट फरार बनेका थिए । घाइते अवस्थामा युवतीलाई इलाका प्रहरी कार्यालय उर्लाबारीबाट इन्सपेक्टर रामप्रसाद तिमल्सिनाको नेत्रृत्वमा खटिएको प्रहरी टोली र स्थानीय बासिन्दाले उद्धार गरेका थिए । प्रहरी र स्थानीयले उद्धार गरेर टाउको र शरीरका विभिन्न भागमा चोट रहेको अवस्थामा युवतीलाई उपचारका लागि लगेका थिए ।


