समाचार
पर्यटन विकासको बजेट रक्सी र मासुभातमा सकेपछि…
माघ २८, काठमाण्डौ । धरान उप–महानगरपालिकाले पर्यटन विकासमा छुट्याएको ठूलो रकम बजेट जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन र मासुभातमा स्वाहा बनाएका छन् । धरान उपमहानगरपालिकाको पर्यटन क्षेत्रको विकासमा खर्चनु पर्ने बजेट जनप्रतिनिधि र कर्मचारीको मिलेमतोमा दुरुपयोग गरेका हुन् । उनीहरुले ६३ लाख २५ हजार तीन सय ७० रुपैयाँ मदिरा र मासुभात शीर्षकमा स्वाहा पारेका छन् । उपमहानगरपालिकाले उक्त बजेटबाट पर्यटक प्रवद्धनको कुनै पनि काम भने गरेको छैन ।

पर्यटनमा विनियोजन गरेको रकमबाट पर्यटन सम्बन्धी योजना छनौट गरी बजेट खर्च गर्ने नियम भए पनि उपमहानगरपालिकाले बजेटलाई आफू खुसी दुरुपयोग गरी नीतिगत भष्ट्रचार गरेको प्रमाण प्राप्त भएको छ । पर्यटन शीर्षकमा उपमहानगरपालिकाले ६६ लाख ३० हजार तीन सय ७० रुपैयाँ खर्च गरेको लेखा अधिकृत भेषराज अधिकारीले बताए । तर, उपमहानगरपालिकामा जनप्रतिनिधि आएपछि पर्यटन विकास उपशाखासंग स्थानीय विभिन्न संघ संस्थाले तीन लाख पाँच हजार रुपैयाँको मात्र कार्यक्रमको सम्झौता गरेको पाइएको छ। सम्झौता पत्रको प्रमाणित प्रतिलिपी अन्नपूर्णसँग सुरक्षित छ ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा प्रकाशित छ ।
