मनोरञ्जन

तिहार बिशेष्, नेपालमा उत्पादन भएका फूलको भन्दा भारतबाट आयातित फूल को माग बढी

काठमाडौँ, २१  कात्तिक । नेपालमा उत्पादन भएका फूलको उचित मूल्य नपाएपछि किसानहरु चिन्तित भएका छन् । भारतबाट आयातित फूलका कारण यहाँ उत्पादन हुने फूलले उचित मूल्य नपाएको गुनासो फूल उत्पादक किसानको छ ।

आफूले उत्पादन गरेको फूल बिक्रीका लागि काठमाडौँसम्म आइपुग्दा पनि लगानी अनुसारको मूल्य नपाएपछि काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिकाका शिवशङ्कर चौलागाईं निरास भएका छन् ।

“मेहनत गरेर यहाँसम्म फूल बिक्री गर्न ल्यायो, तर फूलले बजार नै पाउँदैन”, उनले भने । भारतीय फूलका मालाले बजार पाइरहेका बेला नेपाली मालाले भने बजार नपाउनु आफैँमा अशोभनीय रहेको चौलागाईंको भनाइ छ ।

उनले भने, “भारतीय फूल पसलमा सजाएर राखिन्छन्, तर नेपाली फूल सडक पेटीमा सजाएर राखिँदा पनि बिक्री हुन गाह्रो हुन्छ ।” भारतबाट फूल आयात नरोकिएसम्म नेपाली फूलको मालाले बजार नपाउने उनको भनाइ छ ।

स्वदेशमा उत्पादन हुने फूलको बजारमा खासै माग नभएको अनुभव काभ्रेकी समिता घिमिरेको छ । उनले भनिन्, “काठमाडौँसम्म फूल बिक्री गर्न आयो, गाडीभाडासमेत उठ्दैन ।” घिमिरेका अनुसार फूल उत्पादक किसानलाई माथि उकास्न सरकार गम्भीर भएर लाग्न सक्नुपर्दछ ।

नेपाली बजारमा रु छ करोड ६० लाख मूल्य बराबरको फूलको कारोवार भइरहेको भनिरहँदा भारतबाट रु ४० लाखको फूल आयात भइरहेको जनाइएको छ ।

फ्लोरिकल्चर एशोसियनका उपाध्यक्ष रामजीप्रसाद तिमल्सिनाका अनुसार यस वर्षको तिहारमा ११ लाख माला खपत हुने अनुमान छ । बजारमा सयपत्री प्रतिमाला रु ४० देखि एकसयसम्म बिक्री भइरहेको छ भने मखमली प्रतिमाला रु २५ देखि ४० सम्म बिक्री भइरहेको छ । रासस

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *