समूह सी अन्तर्गत बुधबार राति भएको खेलमा पिएसजीले रेड स्टार बेलग्राडलाई ६–१ को फराकिलो अन्तरले हराएको हो । घरेलु मैदानमा पिएसजीलाई जिताउन नेइमारले ह्याट्रिक गरे भने एडिन्सन काभानी, एन्जल डी मारिया र केलियन एमबाप्पेले एक एक गोल गरे। रेड स्टारका लागि मारिनले एक गोल फर्काएका थिए।
खेलको पहिलो हाफमै पिएसजी चार शून्यले अगाडि बढेको थियो। उसका लागि नेइमारले खेलको २०औं र २२ औं मिनेट गोल गरे भने काभानीले ३७ औं र डी मारियाले ४१ औं मिनेटमा गोल गरे।
पिएसजीका लागि ७० औं मिनेटमा एम्बाप्पेले गोल गर्दै अग्रता ५-० मा पुर्याए। त्यसको चार मिनेटपछि मारिनले रेड स्टारका लागि गोल फर्काएउँदै खेललाई ५-१ को स्थितिमा पुर्याए।
खेलको ८१ औं मिनेटमा नेइमारले गोल गर्दै ह्याट्रिक पूरा गरेपछि पिएसजी ६–१ ले विजयी भयो। सँगै नेइमार च्याम्पियन्स लिगमा सबै भन्दा धेरै गोल गर्ने ब्राजिलियन खेलाडी काकाको कीर्तिमान बराबरी गरे। नेइमारले अहिलेसम्म च्याम्पियन्स लिगमा ३० गोल गरिसकेका छन्।
एजेन्सीको सहयोगमा