uncategorized
नेपाल-भारत सम्बन्ध जनस्तरमै सुमधुर : मोदी
काठमाडौं: नेपाल र भारत सहकार्य उल्झनरहित अघि बढ्ने विश्वास लिएर प्रधानमन्त्री केपी ओली स्वदेश फर्केका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी भएर शुक्रबार साँझ प्रधानमन्त्री प्रसन्न मुद्रामा स्वदेश फर्केका हुन्। ओलीले शुक्रबार बिहान भारतीय समकक्षी मोदीसँग भेटवार्ता गरेका थिए। भेटमा मोदीले नेपाल र भारतको सम्बन्ध जनस्तरमा राम्रो हुँदै गएको र यसलाई थप उचाइमा लैजान ‘रचनात्मक सहकार्य’ गर्ने बताएका थिए।
उनले सहकार्यप्रति खुसी व्यक्त गर्दै यही गतिमा सम्बन्ध अगाडि बढाउने आफ्नो चाहना पनि व्यक्त गरे। मोदीले प्रधानमन्त्री ओलीसमक्ष आतंकवादविरुद्ध जुटेर सहकार्य गर्दै समृद्धिमा अघि बढ्नुपर्ने धारणा राखेका थिए। उनले यस क्षेत्रबाट आतंकवाद अन्त्यगर्दै थाती रहेका परियोजना अघि बढाउने र नयाँ परियोजना थालनी गर्ने बताएको एक अधिकारीले जानकारी दिए।
मोदीले दुईपक्षीय भेटबारे ट्विट गर्दै नेपालसँग सहकार्य गर्दै सम्बन्ध थप उचाइमा लैजान भेटवार्ता महत्त्व पूर्ण रहेको उल्लेख गरेका छन् । प्रधान मन्त्री ओलीले स्वदेश फर्कनुअघि शुक्रबार बिहान हैदराबाद हाउसमा भारतीय समकक्षी मोदीसँग दुईपक्षीय भेटवार्ता गरेका थिए। भेटवार्तामा ओलीले नेपाल–भारत सम्बन्ध एवं आपसी हितबारे छलफल गरेका थिए। ओलीले प्रबुद्ध व्यक्ति समूूह (ईपीजी) को विषयमा पनि मोदीसँग छलफल गरेका छन्।
प्रधानमन्त्री ओलीले नयाँदिल्ली विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपाल– भारतबीच रहेको परियोजना र सहकार्यको अल्झनको गाँठो खुल्दै गएको बताए। उनले छिट्टै हुने नेपाल र भारतबीचको विदेशमन्त्रीस्तरीय संयुक्त आयोग बैठकमा दुईपक्षीय सम्बन्धबारे समीक्षा हुने प्रस्ट पारे।
प्रतिक्रिया दिनुहोस्
