खेलकुद
रङ्गशालाको काम २० प्रतिशत बाँकी
भूकम्पका कारण क्षतिग्रस्त त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको पुनःनिर्माण कार्य ८० प्रतिशत सम्पन्न भएको छ । सरकारले आर्थिक वर्ष २०७५÷७६ को आर्थिक सर्वेक्षण आज सार्वजनिक गर्दै निर्माणाधीन दशरथ रङ्गशालाको अब २० प्रतिशत काम बाँकी रहेको उल्लेख गरिएको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले सङ्घीय संसद्मा पेश गर्नुभएको उक्त आर्थिक सर्वेक्षणअनुसार चालू आवमा सातदोबाटोस्थित पौडी पोखरी र सुटिङ हलको निर्माण सम्पन्न भएको छ । त्यस्तै काठमाडौँको मूलपानीसहित देशको आठ स्थानमा क्रिकेट रङ्गशाला तथा मैदान निर्माणाधीन रहेकामा कीर्तिपुर, भैरहवा, लमही, कोहलपुर र कञ्चनपुरको क्रिकेट मैदान खेल्न योग्य भएको उल्लेख छ । उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि लुक्ला, जुम्ला, खप्तड, घान्द्रुक र बाग्लुङमा सम्भाव्यता अध्ययन थालिनेछ । मनाङमा उच्च धरातलीय खेलकूद प्रशिक्षण केन्द्र स्थापनाका लागि निर्माण जारी छ ।



