खेलकुदविश्व

बलियो जर्मनीलाई धक्का

भियना : साबिक विजेता जर्मनीले मैत्रीपूर्ण खेलमा अस्ट्रियासँग हार खेपेको छ । अस्ट्रियाको राजधानी भियनामा शनिबार राति खेलिएको घरेलु टोलीले बलियो प्रतिद्वन्द्वी जर्मनीलाई २-१ गोलले हरायो । निकै प्रतिस्पर्धात्मक खेलमा जर्मनीले सुरुवाती अग्रता लिएको थियो । जर्मनीका लागि मेसुट ओजिलले आठौं मिनेटमा खाता खोले । पहिलो हाफमा १-० को अग्रता बनाएको जर्मनीले दोस्रो हाफमा लय गुमाएको थियो ।

दोस्रो हाफमा जर्मनीलाई टक्कर दिएको अस्ट्रियाले ५३औं मिनेटमा बराबरी गोल फर्काएको थियो । अस्ट्रियाका लागि मार्टिन हिन्टरेजरले बराबरी गोल फर्काएका थिए । बराबरीपछि थप उत्साही बनेको अस्ट्रियाका लागि अलेसान्ड्रो सोयफले ६९औं मिनेटमा गरेको गोल निर्णायक बनेको थियो । खेलको अन्तिमसम्म गोल फर्काउने जर्मनको प्रयासलाई घरेलु टोलीले निस्तेज बनाएका थिए । साबिक विजेता जर्मनी विश्वकपको समूह ‘एफ’ मा परेको छ । उक्त समूहमा मेक्सिको, स्विडेन र दक्षिण कोरिया रहेका छन् । यो समूहमा तुलनात्मक रूपमा जर्मनी बलियो देखिएको छ ।

अर्को खेलमा मेक्सिकोले स्कटल्यान्डलाई १-० गोलले हरायो । मेक्सिकोका लागि जियोभानी डस सान्तोषले १३औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । अर्को खेलमा स्विडेन र डेनमार्कले गोलरहित बराबरी खेले । यसैगरी युरो कप च्याम्पियन पोर्चुगिज टोली बेल्जियमसँग गोलरहित बराबरीमा रोकियो । बेल्जियमसँग स्वाभाविक खेल खेल्न नसकेको पोर्चुगल रुस विश्वकपमा समूह ‘बी’ बाट प्रतिस्पर्धा गर्दैछ । यो समूहमा स्पेन, मोरक्को र इरान छन् । खेलका क्रममा बेल्जियमका प्रभावशाली खेलाडी भिनसेन्ट कोम्पनी ग्रोइन समस्याबाट पिडीत भएका छन् । उक्त खेलमा पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो पनि अनुपस्थित थिए ।

यसैगरी आइसल्यान्डलाई नर्वेले ३-२ गोलले पराजित गर्‍यो । प्रतिस्पर्धात्मक खेलमा नर्वेले १५औं मिनेटमा खाता खोलेको थियो । नर्वेका लागि वेजोर्न मार्स जोन्सनले गोल गरे । नर्वेको अग्रतालाई आइसल्यान्डले ३०औं मिनेटमा पेनाल्टी गोलमार्फत तोडेको थियो । आइसल्यान्डका अल्फ्रेड फिनगोवासनले पेनाल्टीको सदुपयोग गरे । ७०औं मिनेटमा आइसल्यान्डका गिल्फी सिगुर्डसनले गोल गर्दै टोलीलाई २-१ को अवस्थामा पुर्‍याए । नर्वेले खेलको अन्तिम समयमा लगातार दुई गोल थपेको थियो । नर्वेका जोसु किङले ८०औं र अलेक्जेन्डर सोरलोथले ८५औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित गरे । आइसल्यान्ड समूह ‘डी’ मा छ । उक्त समूहमा अर्जेन्टिना, क्रोएसिया र नाइजेरिया रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *