२०८३ असार ७ आइतबार
चितवन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राजनीतिक दलका नेताहरूलाई ‘बा, आमा र भगवान्’ सरह मान्ने प्रवृत्ति गलत भएको स्वीकार गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताहरूलाई पनि त्यस्तो गल्ती नदोहोर्याउन आग्रह गर्नुभएको छ।
रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै थापाले विगतमा आफ्नै दलभित्र नेताहरूलाई अत्यधिक महिमामण्डन गर्नु गल्ती भएको उल्लेख गर्नुभयो। उहाँले कार्यकर्ताहरूलाई आफ्ना नेताहरूमाथि प्रश्न उठाउन नडराउन र आलोचनात्मक चेतना कायम राख्न सुझाव दिनुभयो।
“दलका नेताहरूलाई भगवान् बनाएर गल्ती गर्ने छुट नदिनुहोला। आफ्ना नेताहरूलाई प्रश्न गर्न कहिल्यै नडराउनुहोला,” थापाको भनाइ थियो।
उहाँले आफूहरू प्रतिपक्षी दल भएकाले रास्वपाको राजनीतिक प्रतिस्पर्धी भए पनि स्वस्थ प्रतिस्पर्धाको पक्षमा रहेको बताउनुभयो। सरकारले गरेका गलत कामको आलोचना गर्ने र सकारात्मक कामको समर्थन गर्ने कांग्रेसको भूमिका रहने उहाँले स्पष्ट पार्नुभयो।
थापाले नेपाली कांग्रेस सत्तामा रहँदा शक्ति केन्द्रित गर्ने, आफ्ना संरचना जोगाउने तथा भ्रष्टाचारका घटनाहरू हुन दिएको विषयमा पनि आत्मालोचना गर्नुभयो। सरकार वा कुनै राजनीतिक दलबाट हुने भ्रष्टाचारजन्य तथा अपराधजन्य गतिविधिमाथि कानुनी कारबाही हुनुपर्नेमा कांग्रेसको समर्थन रहने उहाँले बताउनुभयो।
राष्ट्र, राष्ट्रियता र सार्वभौमिकतासँग सम्बन्धित विषयमा सरकारले गल्ती गरे प्रतिपक्षका रूपमा निरन्तर खबरदारी गर्ने र आवश्यक प्रश्न उठाइरहने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो।

