२०८३असार १ साेमवार
काभ्रेपलाञ्चोक । नेपाल रेडक्रस सोसाइटी कुशादेवी उपशाखाको आयोजना तथा पनौती नगरपालिका वडा नं. २ को सहयोगमा कुशादेवीमा एकदिने विपद् व्यवस्थापन अभिमुखीकरण कार्यशाला सम्पन्न भएको छ।
कुशादेवी उपशाखाका सभापति टंकप्रसाद हुमागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. २ का अध्यक्ष पुरुषोत्तम अधिकारी प्रमुख अतिथि तथा नेपाल रेडक्रस सोसाइटीका पूर्व जिल्ला सभापति सोमप्रसाद हुमागाई विशेष अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
कार्यक्रमको सहजीकरण प्रशिक्षकद्वय शिवराम आचार्य र रामेश्वर आचार्यले गर्नुभएको थियो। कार्यशालामा ३० जना सहभागीहरूको उपस्थिति रहेको थियो।
अभिमुखीकरणका क्रममा स्थानीय स्तरमा हुन सक्ने विपद्का प्रकार, विपद् व्यवस्थापन निर्देशिका, विपद् प्रतिकार्यका उपाय, जोखिम न्यूनीकरण तथा पूर्वतयारीका विषयमा विस्तृत छलफल गरिएको आयोजकले जनाएको छ। साथै सहभागीहरूबीच स्थानीय विपद् व्यवस्थापनका चुनौती, सम्भावित जोखिम र समुदायस्तरमा अपनाउनुपर्ने तयारीबारे अन्तरक्रिया तथा परामर्शसमेत गरिएको थियो।
कार्यक्रमले विपद् सम्बन्धी जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीय समुदायलाई विपद्को सामना गर्न सक्षम बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

