Site icon Tukinetwork.com

भुम्लुमा उद्यम विकास कार्यक्रम प्रभावकारी, वैदेशिक रोजगारीबाट फर्किएकालाई प्राथमिकता

२०८३जेठ २५ साेमबार,
काभ्रेपलाञ्चोक । भुम्लु गाउँपालिकाले उद्यम विकास तथा सीपमूलक तालिममार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने अभियानलाई निरन्तरता दिएको जनाएको छ।

गाउँपालिकाको उद्यम विकास शाखाका प्रमुख केवि थापाका अनुसार गाउँपालिकामा २०७७ सालअधि तत्कालीन मेडेप (MEDEP) कार्यक्रममार्फत उद्यम विकासका गतिविधि सञ्चालन हुँदै आएका थिए। पछि उक्त कार्यक्रम स्थानीय सरकारको स्वामित्वमा आएपछि कृषि, तरकारी खेती, फलफूल, माछापालन, पशुपालन, पर्यटन, हस्तकला, ड्राइभिङ, प्रविधि तथा सीप विकाससँग सम्बन्धित विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ।

विगतका वर्षमा करिब ८ सयदेखि ९ सय जनासम्मलाई विभिन्न प्रकारका सीपमूलक तथा उद्यमशीलता तालिम प्रदान गरिएको शाखाले जनाएको छ। विशेष गरी २०७७ सालदेखि १५० जनाले प्रत्यक्ष राेजगारी गरिरहेका छन् । अन्य प्रशिक्षित व्यक्तिहरु विभिन्न स्थानमा पेशा ,व्यवसायमा छन् । उक्त शाखाले संचालन गरेकाे ड्राइभिङ तालिमले गत वर्ष उल्लेखनीय उपलब्धि हासिल गरेको थापाको भनाइ छ।

हाल गाउँपालिकाले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी उद्यम प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिरहेको छ। वडा कार्यालयहरूको सिफारिसका आधारमा संघीय तथा स्थानीय तहको बजेटमार्फत आन्तरिक रोजगारी सिर्जनामा जोड दिइएको छ। पालिकाले यस वर्ष ड्राइभिङ तालिम वैदेशिक रोजगारीबाट फर्किएका पाँच जनालाई कार्यक्रममा समेटिएको थियो भने आगामी दिनमा थप युवालाई समावेश गर्ने लक्ष्य रहेको छ।

गाउँपालिकाले घरेलु तथा साना उद्योग प्रवर्द्धन, पर्यटन व्यवसाय विकास र स्थानीय उत्पादनको बजारीकरणमा समेत सहयोग गर्दै आएको छ। पालसकाकाे २ नम्वर वडा बेकसिम्ले क्षेत्रमा लप्सी प्रशोधन तथा पाउँ, क्यान्डी उत्पादनमा संलग्न १० सदस्यीय समूह सक्रिय रहेको छ। उक्त समूहको नेतृत्व निमा तामाङले गरिरहेका छन्। साे सामुहिक व्यापारीक परिचालनले मुर्तरुप लिएको थापाको भनाइ छ।

यस्तै, चौवास क्षेत्रमा तरकारी खेती प्रवर्द्धन, भुम्लुटारमा वर्कसप सञ्चालन तथा अल्लो प्रशोधनका लागि आवश्यक धागो बनाउने मेसिन उपलब्ध गराइएको छ। अल्लोबाट उत्पादित सामग्री निर्माणमा १२ जना संलग्न रहेका छन्। उनीहरूले उत्पादन गरेका अल्लाेका सामग्री बिक्रीका लागि काठमाडौंको बुढानीलकण्ठमा बिक्री कक्ष रहेको छ।

उद्यममा संलग्न धेरै स्थानीयले घरमै बसेर मासिक १५ देखि २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको गाउँपालिका उद्यम शाखा प्रमुख थापाले जानकारी दिनु भयो । साथै, पालिकाले विभिन्न साझेदार संस्थाको सहयोगमा सीपमूलक कार्यक्रम पनि सञ्चालन हुँदै आएका छन्।

स्थानीय सरकारले उद्यमशीलता विकास, सीप अभिवृद्धि तथा स्वरोजगार प्रवर्द्धनमार्फत गाउँपालिकालाई आत्मनिर्भर अर्थतन्त्रतर्फ उन्मुख गराउने लक्ष्य लिएको जनाएको छ।

Exit mobile version