Site icon Tukinetwork.com

हरेक वर्ष झै यो वर्ष पनि `हरित काव्य गाेष्ठी २०८३ सम्पन्न´

 

जेठ २३,

काठमाडौं । विश्व वातावरण दिवसको अवसर पारेर राजधानी काठमाडौंमा “हरित काव्य गोष्ठी–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। वर्तमान कविता समूह, शब्दाङ्कुर मासिक, रातोघर तथा कोटेश्वर बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शनिबार कोटेश्वर–जडीबुटीस्थित कोटेश्वर बहुमुखी क्याम्पसको सभाहलमा कार्यक्रम सम्पन्न भएको हो।
क्याम्पस प्रमुख डा. प्रकाश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वर्तमान कविता समूहका विश्व सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्दै समूहले निरन्तर सञ्चालन गर्दै आएका साहित्यिक तथा सिर्जनात्मक गतिविधिबारे प्रकाश पारे। उनले साहित्य समाज रूपान्तरणको प्रभावकारी माध्यम भएको उल्लेख गर्दै वातावरण संरक्षण र प्रकृतिप्रतिको चेतना जगाउन साहित्यको महत्वपूर्ण भूमिका रहने बताए।

कार्यक्रममा सहभागी कविहरूले वातावरण, प्रकृति संरक्षण, जलवायु परिवर्तन, मानवीय संवेदना तथा समकालीन सामाजिक यथार्थलाई केन्द्रमा राखेर सिर्जना गरिएका कविता वाचन गरेका थिए। कार्यक्रममा साहित्यकार ज्ञानुवाकर पौडेल, कृष्ण बाउसे, अभय श्रेष्ठ, रामगोपाल आशुतोष, यशोदा अधिकारी, ठाकुर बेलबासे, मणि लोहोनी, सुधीर ख्वाबी, रजनिमिला रजनीलगायतका स्रष्टाहरूले आ–आफ्ना कविता प्रस्तुत गरेका थिए।

त्यसैगरी हरिप्रसाद सिलवाल, भोजराज न्यौपाने, भोजराज रेग्मी ‘मुखाले’, एकता के.सी., किसन पौडेल, डी.बी. बर्तौला, सुरेन्द्र सुवेदी, डा. हिमलाल श्रेष्ठ, अमित घिमिरे, प्रज्वल अधिकारी, राजबाबु पहाडी, रमी प्रिया, धीरकुमार श्रेष्ठ, विश्व सिग्देल, चन्द्रबहादुर लामा, भवानी खतिवडा, चैतन्य अधिकारी तथा सन्तोष घर्ती मगरका कविताले वातावरणीय चेतना र सामाजिक सरोकारका विविध पक्ष उजागर गरेका थिए।

कार्यक्रममा साहित्यकार गोविन्द गिरी प्रेरणा, शकुन्तला जोशी र दीपक समीरले समेत वातावरणीय चेतनाले ओतप्रोत कविता वाचन गरे। केशव भट्टराईको सुमधुर गजल प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
शब्दाङ्कुर मासिकका तर्फबाट धीरकुमार श्रेष्ठले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सहभागी सबै स्रष्टाप्रति आभार व्यक्त गरे। कोटेश्वर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख मनोज अधिकारी तथा प्राध्यापक संघका सभापति सुरेश पोखरेलले कविहरूलाई मायाको चिनो प्रदान गर्दै सम्मान गरेका थिए।

कार्यक्रमको मध्यान्तरमा शैलेन्द्र अधिकारीको “तेजस्”, रमी प्रियाको “फुल्नुअघि नानीचा स्वां”, प्रज्वल अधिकारीको “अस्तित्वको ब्रह्माण्ड” तथा दिवाकर भट्टको “द घोस्टराइटर” नामक प्रकाशोन्मुख कृतिहरूको आवरण (कभर) अनावरण गरिएको थियो।

चन्द्रबहादुर लामा र केशव भट्टराईले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कार्यक्रम साहित्यकार, बुद्धिजीवी, शिक्षाविद्, विद्यार्थी तथा साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको हो। आयोजकहरूले “हरित काव्य गोष्ठी–२०८३” लाई वातावरणीय चेतना, प्रकृतिप्रतिको उत्तरदायित्व र साहित्यिक सिर्जनशीलताको महत्वपूर्ण संगमका रूपमा व्याख्या गरेका छन्।

Exit mobile version