Site icon Tukinetwork.com

काभ्रेमा निर्वाचन आचारसंहिता र मनोनयन प्रक्रियाबारे जानकारी

२०८२माघ ४ आइतबार
काभ्रेपलान्चोक  । आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, पारदर्शी र भयमुक्त वातावरणमा सम्पन्न गर्ने उद्देश्यका साथ आज धुलिखेलमा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय धुलिखेलको आयोजनामा  आइतबार आयोजित बैठकमा मुख्य निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी कृष्णप्रसाद ढुंगानले उपस्थित सम्पूर्ण महानुभावहरूलाई कार्यालयको तर्फबाट हार्दिक कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभयो।

बैठकको अध्यक्षता प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का मुख्य निर्वाचन अधिकृत तथा माननीय जिल्ला न्यायाधीश श्री प्रेमप्रसाद न्यौपानेले गर्नुभएको थियो। कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन अधिकृत श्री टिका भूषण घिमिरे, प्रमुख जिल्ला अधिकारी श्री गोपत्तकुमार अधिकारी, राजनीतिक दलका प्रतिनिधि, स्वतन्त्र उम्मेदवारका प्रतिनिधि, सुरक्षा निकाय, कार्यालय प्रमुख, सञ्चारकर्मी, पर्यवेक्षक, नागरिक समाज तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

बैठकमा माघ ६ गते हुने मनाेनयन दर्ता कार्यक्रमको जानकारी, निर्वाचन आचारसंहिता , मनोनयन दर्ता प्रक्रिया (कानुनी प्रावधानसहित), शान्ति सुरक्षा व्यवस्थापन, मनोनयन दर्ताको समय निर्धारण तथा विविध विषयमा जानकारी गरिएको थियो।

बैठकमा उम्मेदवारको मनोनयन दर्तासम्बन्धी कानुनी प्रावधानहरूबारे स्पष्ट पारिँदै उम्मेदवारको योग्यता, उमेर (२५ वर्ष पूरा भएको हुनुपर्ने), मतदाता परिचयपत्रको प्रतिलिपि, धरौटी रकम बुझाएको रसिद, सम्पत्ति विवरण, स्वघोषणा फाराम, वैयक्तिक विवरण, फोटो, प्रस्तावक–समर्थकको विवरण, निर्वाचन निर्देशिकाअनुसार आवश्यक कागजातहरू अनिवार्य रूपमा संलग्न हुनुपर्ने जानकारी दिइयो।

त्यसैगरी विदेशी मुलुकको स्थायी आवासीय अनुमति प्राप्त व्यक्ति, कानुनअनुसार अयोग्य ठहरिने व्यक्ति उम्मेदवार बन्न नसक्ने, तोकिएको समयसीमाभित्र रीतपूर्वक मनोनयन दर्ता गर्नुपर्ने लगायतका विषयमा निर्वाचन अधिकृतहरूले प्रष्ट पारेका थिए।

बैठकमा सहभागी सबै सरोकारवालाहरूले निर्वाचनलाई सफल बनाउन सहकार्य, अनुशासन र जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

Exit mobile version