समाचार
पुरस्कार, विद्वदवृत्ति, छात्रवृत्ति तथा कदरपत्र समर्पण कार्यक्रम सम्पन्न

मंसिर २७, २०८२ शनिबार
काभ्रेपलाञ्चोक । साहित्य, संस्कृति र सामाजिक योगदानका क्षेत्रमा सक्रिय ‘शब्दयात्रा प्रकाशन’को आयोजनामा बहुआयामिक साहित्यिक कार्यक्रम सम्पन्न हुने भएको छ। कार्यक्रममा स्वागत भाषणसहित मुख्य कार्यक्रममा प्रवेश, संस्थागत मान्यताको प्रस्तुति तथा आजको कार्यक्रमबारे जानकारी दिने सत्र समावेश गरिएको थियो ।
कार्यक्रम दिउँसो १२ः३० बजे सुरु भएको थियो। कार्यक्रमको आरम्भ शब्दयात्रा प्रकाशनका आजीवन सदस्य शिव बन्जराले वाणीस्तुतिसहित मन्तव्यबाट गरेका थिए। कार्यक्रममा उपस्थित पुस्तिकामा हस्ताक्षर गराउन सृजना केसीले गरिन् भने छात्रवृत्ति तथा पुरस्कार वितरण आजीवन सदस्य ई. रोशन मञ्जुश्री अधिकारीले गरेका थिए। कदरपत्र अर्पणको तयारी अमृत अधिकारीले गरेका थिए ।
समारोहमा शब्दयात्रा प्रकाशनका जग्गादाता कृष्णमणि कुड्केलको सभापतित्व रहेको थियो। कार्यक्रममा संस्थापक अध्यक्ष हरि मञ्जुश्री, शिक्षासेवी तथा लेखक केदारनाथ श्रेष्ठ, शिक्षासेवी तथा कवि डा. रूपनारायण श्रेष्ठ, पत्रकार तथा नाटककार हरिगोपाल प्रधान लगायतको आतिथ्य रहेको थियो।
शब्दयात्रा प्रकाशनले पुरस्कार, विद्वदवृत्ति, छात्रवृत्ति तथा कदरपत्र समर्पणसँगै` भूस्वर्गकाे सुवास’ डाक्टर इन्दुल के.सि.र, ‘भागवत एक परिचय’ केदारनाथ तिमल्सिनाकाे पुस्तक सार्वजनिककरण कार्यक्रम सम्पन्न गरेको छ। उक्त पुस्तक माथि गजलकार नवराज उत्साहीले टिप्पणी गर्नु भएको थियो ।
विद्वदवृत्ति अनुसन्धानकर्ता प्रकाशबहादुर कायस्थ, दामोदर घिमिरे, शारदा घिमिरे भैल, दण्डपाणि अधिकारी, मुरहरि रायमाझी `हरि´ लगायत सम्मानित हुनु भएको थियो । पत्रकारहरु तुलसी गिरी, कृष्ण केसी, शुभराज अधिकारी पनि सम्मानित हुनु भएको थियो ।
कार्यक्रममा जेहन्दार तथा आर्थिक अबस्था कमजोर भएका ३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरियाे । विभिन्न स्रष्टा, सम्पादक तथा प्रकाशनसँग सम्बन्धित व्यक्तित्वलाई माला, उपहार, नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको आयोजकले जनाएको छ। साथै, सार्वजनिक गरिएका दुवै कृति आज ५० प्रतिशत छुट मूल्यमा उपलब्ध गराइएको जानकारी दिइएको छ।

