समाचार
१७ देशका १९६ विदेशी विद्यार्थी दीक्षित हुँदै, केयुमा भव्य तयारी

मंसिर, २२ साेमबार,२०८२
काभ्रेपलान्चाेक । काठमाडौं विश्वविद्यालयको ३९औं (३१औं ब्याचको) दीक्षान्त समारोहको पहिलो चरण मंसिर २४ गते बुधबार धुलिखेलस्थित विश्वविद्यालयको केन्द्रीय परिसरमा आयोजना हुने भएको छ। बिहान ११ बजे सुरु हुने समारोहको अध्यक्षता प्रधानमन्त्री तथा कुलपति सुशीला काकीले गर्नेछिन् भने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति महावीर पुन विशेष उपस्थितिमा रहनेछन्। नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का कुलपति प्रा. सान्तीथी धलिपडी पण्डित प्रमुख अतिथिको रूपमा सहभागी भई दीक्षान्त सम्बोधन गर्ने कार्यक्रम रहेको छ। समारोह विश्वविद्यालयका रजिस्ट्रार प्रा. डा. राजीव श्रेष्ठले सञ्चालन गर्नेछन् भने उपकुलपति प्रा. डा. अच्युत वाग्लेले स्वागत मन्तव्य दिनेछन्।
यस वर्ष विभिन्न स्कूलहरूबाट गरी २ हजार २ सय ९ विद्यार्थी दीक्षित हुँदैछन्, जसमा सबैभन्दा धेरै संख्यामा ८८१ विद्यार्थी मेडिकल साइन्सेज स्कुलका छन्। कुल दीक्षितमध्ये १ हजार १ सय ५४ पुरुष र १ हजार ५५ महिला रहेका छन्। १७ देशका १९६ विदेशी विद्यार्थी पनि यसपटक उपाधि प्राप्त गर्नेछन्। यस वर्ष विश्वविद्यालयले पहिलोपटक स्कुल अफ साइन्स अन्तर्गत MPhil by Research in Mathematics, Bachelor of Science in Agriculture तथा स्कुल अफ मेडिकल साइन्सेज अन्तर्गत Master of Medical Research कार्यक्रमबाट विद्यार्थी दीक्षित गर्दैछ।
दीक्षान्त समारोहसहित विश्वविद्यालयबाट अहिलेसम्म दीक्षित विद्यार्थीको संख्या ५० हजार ४० पुगेको छ, जसमा विदेशी विद्यार्थीको संख्या ५ हजार ८६० (झण्डै १२ प्रतिशत) रहेको छ। समारोहमा उत्कृष्ट विद्यार्थीहरूलाई स्वर्णपदक प्रदान गरिने विश्वविद्यालयले जनाएको छ। चान्सलर स्वर्णपदक Ms. Maite Castellano Menchaca ले प्राप्त गर्नेछिन्। MBBS कार्यक्रमको सर्वोत्कृष्ट विद्यार्थीका रूपमा नोबेल मेडिकल कलेज विराटनगरका गौरव सिंह साउद चयन भएका छन्। MBA कार्यक्रममा अरुणा द्वयांची र सौगत दगान दुवैले उत्कृष्टता प्राप्त गरी स्वर्णपदक हात पार्नेछन्। MBBS तर्फ लुम्बिनी मेडिकल कलेजकी रक्षा तिवारी उत्कृष्ट ठहरिएकी छन्। उनी BBA Honors कार्यक्रमको उत्कृष्ट विद्यार्थी पनि बनेकी छन्। BBM–LL.B कार्यक्रमको उत्कृष्टतामा आन्सा रेग्मी छनौट भएकी छन्।
समारोहमा उपाधि वितरणसँगै उत्कृष्ट विद्यार्थीहरूलाई स्वर्णपदक प्रदान गरिने विश्वविद्यालयका प्रवक्ता डा. उदय प्याकुरेलले जानकारी दिएका छन्।
