समाचार
मर्फिन’ कथा–संग्रहमाथि विशेष परिचर्चासहित सु–प्रभात काव्यगोष्ठी सम्पन्न

मंसिर २०, शनिबार, २०८२
काठमाडौँ। नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित सु–प्रभात काव्यगोष्ठी काठमाडौंको बागबजारमा सम्पन्न भएको छ। प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक जगत प्रसाद उपाध्याय ‘प्रेक्षित’ प्रमुख अतिथि रहनु भयो।
कार्यक्रममा प्रमुख अतिथि उपाध्यायले वाचन गरिएका रचनाहरूमा समालोचनात्मक टिप्पणी गर्दै कवितामा रूप, लय, अलंकार र भावको सन्तुलन हुनुपर्नेमा जोड दिनुभयो। आधुनिक कविताले समाजमा सकारात्मक चेतना फैलाउनुपर्ने उल्लेख गर्दै उहाँले कविहरूलाई ‘गालीभन्दा सकारात्मक सन्देश प्रवाहमा उन्मुख हुन’ आग्रह गर्नुभयो।
कार्यक्रममा साहित्यकार तथा पत्रकार लक्ष्मण अधिकारीको कथा–संग्रह ‘मर्फिन’ माथि विशेष परिचर्चा गरिएको थियो। समालोचक डा. लेखराज खतिवडाले कथाहरू स्वास्थ्य क्षेत्रसँग गहिरोसँग जोडिएको भन्दै कथाकारले सामाजिक यथार्थलाई कलात्मक रूपमा उतार्न सफल भएको टिप्पणी गर्नुभयो। कथामा चिकित्सकहरूको मानसिक अवस्था, पेशागत तनाव, आत्महत्याका घटना, स्वास्थ्य क्षेत्रको विकृति र अव्यवस्थालाई प्रभावकारी ढंगले प्रस्तुत गरिएको उहाँको भनाइ थियो। अंग–प्रत्यारोपणसम्बन्धी कथालाई नयाँ प्रयोगका रूपमा उहाँले मूल्यांकन गर्नुभयो।
यसपटकको ‘स्रष्टा विशेष’ अन्तर्गत कवि डम्बर पहाडी ‘एलाक’ प्रस्तुत हुनु भएको थियो। उहाँले चार कविता तथा केही एलाक वाचन गर्दै आफ्ना अभिनय–प्रधान रचनाले कार्यक्रमलाई खैलाबैला पार्नुभयो।
प्रगतिवादी कवि पूर्ण विरामद्वारा आयोजित कविता वाचन प्रतियोगितामा यम ज्योति प्रथम घोषित भए। उनले ‘यहाँ उग्रेको आकाश’ कविता वाचन गरेका थिए। उपेन्द्र तिमल्सिनाले ‘म बहुलाएको छु’ शीर्षक कविता प्रस्तुत गर्नुभएको थियो। विजेतालाई नगद १,००० रुपैयाँ प्रदान गरिएको थियो।
कार्यक्रममा युवराज नास्तिक, गंगा खतिवडा, शिवहरी पाण्डे, केशव घिमीरे, दिनेश अधिकारी, दिनेश खरेल, दीपक विहिन, मनोज सार्थक, नवराज उत्साही, भवानी पाण्डे, बाबुराम श्रेष्ठ, यात्री, संगी काली, अमर अधिकारी, यमबहादुर ज्योति, लीलाराज दाहाल, ई. दिनविनोद खड्का, उपेन्द्र तिमल्सिना, लक्ष्मण देव पाण्डे, रत्ननिधि रेग्मी, तिलक गौँले, अल्फी फोहेन फाक्लुपा लगायतले कविता तथा रचना वाचन गरेका थिए।
त्यसैगरी कृष्णप्रसाद पौडेल, चेवन बस्नेत, विके अर्याल, लब खड्का, उमाकुमारी श्रेष्ठ, बलराम तिमल्सिना, इन्दिरा काफ्ले, राज्यलक्ष्मी अमात्य, नवीन पल्लव र बलराम विष्टले पनि आफ्ना रचना प्रस्तुत गरे।
कार्यक्रमको सञ्चालन प्रतिष्ठानका महासचिव युवराज नास्तिकले गर्नुभयो। समापन भाषणमा अध्यक्ष दिल पौडेलले सहभागी सबै अतिथि तथा स्रष्टाप्रति धन्यवाद व्यक्त गर्नुभयो।