मनोरञ्जन
समय, समाज र स्वर” : वर्तमान कविता समूहको विशेष कवि गोष्ठी
काठमाण्डौ।वर्तमान कविता समूह र अरनिको नाट्यशालाको संयुक्त आयोजनामा “समय, समाज र स्वर” शीर्षक विशेष कवि गोष्ठी सम्पन्न भएको छ। देशको समसामयिक राजनीतिक परिदृश्य, सामाजिक द्वन्द्व र परिवर्तनका चुनौतीहरूलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा सहभागी कविहरूले आफ्ना कवितामार्फत समाजमा देखिएका विरोधाभास, असन्तोष र संवेदनशील यथार्थहरूलाई उजागर गरे।
कार्यक्रममा कवि रामगोपाल आशुतोषले ‘उमेरको आधा समय नकटेको समयसित’ कविता वाचन गर्दै प्रेम, राजनीति र द्वन्द्वको त्रिवेणी प्रस्तुत गरे। रजनी मिलाले ‘आमा, न तिमी स्वतन्त्र थियौ न म स्वतन्त्र छु’ कविता वाचन गरिन्, जसले अस्तित्व र स्वतन्त्रताको स्वरलाई मुखरित गर्यो। विना नेमकुलले ‘द्वन्द्व’ कविता प्रस्तुत गर्दै मन र मस्तिष्कबीचको आन्तरिक संघर्षलाई उजागर गरिन् भने विश्व सिग्देलले ‘जुनकीरी र आगोको किस्सा’ कविता वाचन गरे, जसले अहंकार, अवसाद र सामाजिक संवेदनशीलताको टकरावमार्फत व्यक्तिगत र सामूहिक विनाशको चेतावनी दिएको गहिरो रूपकात्मक सन्देश बोकेको थियो।
त्यस्तै कमलराज के.सी.ले ‘प्रश्न आफैंसँग’ मार्फत सहिदको योगदानप्रति सम्मान प्रकट गरे। देवकी तिमल्सिनाले ‘उमार्नु छ दुबो’ र राधिका कल्पितले ‘के मलाई तिमी विना बाँच्ने बानी पर्ला’ कवितामार्फत क्रमसः परिवर्तनको आशा र सहिद परिवारको पीडा प्रस्तुत गरे। सुरेश गाउँले, सञ्जय सुमन, श्रीराम दाहाल, शैलेन्द्र प्रसाद सिग्देल, कञ्चन जी.आर., रोमा लम्साल, एम.पी. पान्डे, ध्रुव गजुरेल र गजेन्द्र बोहोराका कविताहरूले पनि समाजको विडम्बना, व्यक्तिगत संघर्ष र राष्ट्रिय अस्तित्वका प्रश्नहरूलाई कलात्मक रूपमा अभिव्यक्त गरे।
सो अवसरमा वर्तमान कविता समूहका प्रतिनिधि विश्व सिग्देलले समूहले विगतदेखि नै समसामयिक र सृजनात्मक साहित्यिक विषयमा केन्द्रित कार्यक्रमहरू गर्दै आएको उल्लेख गर्दै, आगामी दिनहरूमा पनि यस्ता साहित्यिक प्रयास निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमको सञ्चालन कवि रमी प्रियाले गरेकी थिइन्।

