कार्तिक १, शनिबार, २०८२
काठमाडौं । नागार्जुन वाङ्मय प्रतिष्ठानको नियमित बैठक आज सम्पन्न भएको छ। काठमाडौंको बागबजारस्थित कार्यालयमा बसेको उक्त बैठक प्रतिष्ठानका अध्यक्ष दिल पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो।
बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू पारित गरेको अध्यक्ष पौडेलले टुकी नेटवर्कलाई जानकारी दिनुभयो। निर्णयअनुसार प्रतिष्ठानले २०८१ सालदेखि सुरु भएको `वाङ्मय सौरभ´ २०८२ मा पनि प्रकाशन गर्नेछ। साथै, कमिटीका सदस्यहरूबाट पाँच–पाँच हजार रुपैयाँ संकलन गरी पालैपालो कमिटीकै सदस्यहरूको कृति प्रकाशित गर्ने निर्णय गरिएको छ।
प्रतिष्ठानको साधारण सभा आगामी पुस १९ गते गर्ने र संस्थाका पूर्व उपाध्यक्ष यादव थपलियाको जन्मजयन्ती विशेष कार्यक्रम यही कार्तिक १५ गते शनिबार मनाउने निर्णय पनि बैठकले गरेको छ।
विगत १०–१२ वर्षदेखि निष्क्रिय अवस्थामा रहेको नागार्जुन वाङ्मय प्रतिष्ठानले पछिल्ला दुई वर्षयता साहित्यिक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ।

