Site icon Tukinetwork.com

दशैँको छेकमा बालकथासङ्ग्रहको सार्वजनीकर

– जयराम बिडारी

काठमाडौँ, असोज ११।इन्टरनेशनल स्कुल, धुम्वाराहीका कक्षा-३ र ४ मा अध्ययनरत अल्फा पुस्ताका छात्रछात्राहरूले संयुक्त कथासङ्ग्रह सार्वजनिक गरेका छन् । विद्यालय प्राङ्गणमा आयोजित सार्वजनिकरण कार्यक्रमका अध्यक्ष विद्यालयकै प्राचार्य अनिरुद्र अर्याल थिए भने प्रमुख अतिथि र विशेष अतिथिको भूमिकामा थिए-माधव घिमिरे ‘अटल’ तथा केशरी अम्गाई ।

आफ्ना सिर्जनाको लोकार्पण गरेपछि आफ्नो अनुभूति साझा गर्दै कक्षा-४ मा अध्ययनरत छात्र सिम्रन लामिछानेले आफूहरूले तयार पारेको सामग्रीलाई अझ परिष्कार गरी पठनीय बनाइदिएकामा सम्पूर्ण साथीहरूको तर्फबाट सम्पादक केशरी अम्गाईप्रति आभार व्यक्त गरे ।
त्यस्तै खाले अनुभूति साटासाट गरे कक्षा- ३ मा अध्ययनरत अमोलिक बोहरा र सक्षम भट्टले ।

आफ्नो सङ्क्षिप्त शुभकामना मन्तव्यका सिलसिलामा लोमश वाङ्मय प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ले घर आँगनीमा आएका पर्वहरूको पूर्वसन्ध्यामा शुभकामना प्रदान गर्दै अल्फा पुस्ताले गरेको अब्बल सुकर्मको सराहना गरे । उनले यो पुस्तालाई सिर्जनात्मक कर्ममा आकृष्ट गर्न सके भाषा र साहित्यको सम्वर्द्धन गर्न कठिन नहुने तर्क गरे । इन्टरनेशनल स्कुलले आफ्ना छात्रछात्रालाई सिर्जनात्मक काममा व्यस्त गराउन खोजेको अभियानको उनले खुलेर बखान गरे ।

पुस्तकको भाषा सम्पादकको जिम्मेवारी बहन गरेका बहुआयामिक बालसाहित्यकार केशरी अम्गाईले विद्यार्थीको रूचिअनुसार विद्यालयले मार्गदर्शन गर्न सकेकामा प्राचार्य लगायत सम्पूर्ण शिक्षकको प्रशंसा गरे । उनले निकट भविष्यमै उनीहरूले नाटकको पुस्तक समेत तयार गर्न लागेको खुलासा गर्दै आफूले बच्चाहरूलाई उत्प्रेरित गर्न कुनै कसर बाँकी नराखेको बताए। विद्यालयका हरेक सिर्जनशील कदममा आफ्नो साथ रहने वाचा गर्दै अम्गाईले अभिप्रेरक अभिभावकहरूको पनि सराहना गरे ।

प्राचार्य अनिरुद्र अर्यालले आफूहरूले विद्यार्थीलाई यथाशक्य सिर्जनात्मक कार्यमा संलग्न गराएको बताउँदै आगामी दिनमा थप मेहनत गर्ने वाचा गरे । अर्यालले आफूहरूले विगत तीन वर्ष यता विद्यार्थीहरूलाई रचनात्मक काममा प्रोत्साहित गर्दा मोबाइलको दुरुपयोग न्यूनीकरण भएको पनि खुलासा गरे । प्रकाशोन्मुख नाटकले पनि विद्थार्थीको सिर्जनालाई विविधीकरण गर्न मद्दत गर्ने अर्यालको अपेक्षा थियो । उपस्थित विद्यार्थीहरूलाई टीका अर्पण गरेर कार्यक्रमको समापन गरिएको थियो ।

Exit mobile version