Site icon Tukinetwork.com

उच्च अदालत पाटनद्वारा छवि हुमागाईंलाई सफाइ

साउन ३० शुक्रबार ,२०८२
काठमाडौं । उच्च अदालत पाटनले नेकपा (एकीकृत समाजवादी) का नेता तथा बागमती प्रदेश कमिटी सदस्य छवि हुमागाईंलाई सफाइ दिएको छ।

हुमागाईंसहितका प्रतिवादीमाथि नक्कली कागजात बनाएर बैंकबाट ऋण लिएर ठगी गरेको आरोप थियो। अदालतले भने ऋणी कमला वि.एम.लाई दोषी ठहर गरेको छ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय मुनेन्द्रप्रसाद अवस्थी र व्रजेश प्याकुरेलको इजलासले साउन २८ गते बैंकिङ कसुर मुद्दामा सफाइ दिने फैसला गरेको हो।

अदालतको ठहर अनुसार प्रतिवादी कमला वि.एम.ले काठमाडौंको सितापाईला गाविस वडा नं. ५ मा रहेको कित्ता नं. ५ (क्षेत्रफल ४९२.७४ वर्गमिटर) र ऐ. इचङ्गुनारायण गाविस वडा नं. २ मा रहेको कित्ता नं. ५१ (०–९–०) जग्गा साविक त्रिवेणी विकास बैंकमा धितो राखी साँवा–ब्याज नतिरेकी थिइन्। जग्गाको विवरणमा घरबाटोको सिफारिस समेत झुट्टा देखिएको अदालतको निष्कर्ष छ।

कमला वि.एम.लाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ७ को देहाय (क) तथा (ख) बमोजिमको कसुर गरेको ठहर गरिएको छ। उनलाई हुने सजाय निर्धारणका लागि फौजदारी कसुर बमोजिम छुट्टै सुनुवाइ आवश्यक देखिएकाले भदौ ४ गते पेशी तोकिएको छ। उनले आरोप स्विकार गरेको समेत देखिन्छ।

उता, हुमागाईं तत्कालीन ब्राइट बैंकका कम्पनी सचिव हुँदै त्रिवेणी विकास बैंक र पछि ग्लोबल आइएमई बैंकमा कार्यरत थिए। त्रिवेणी विकास बैंकको थापाथली शाखा प्रमुख हुँदा कर्जा प्रवाहमा अनियमितता भएको भन्दै अजयकुमार मिश्रको जाहेरीका आधारमा नेपाल सरकारले मुद्दा दर्ता गरेको थियो।

अदालतमा उनले कर्जा प्रवाहमा आफ्नो बदनियत नरहेको भन्दै इन्कारी बयान दिएका थिए। फैसलाको पूर्ण पाठ सार्वजनिक भएपछि टुकी नेटवर्कसँग कुरा गर्दै हुमागाईंले ढिलो भए पनि न्याय पाएकोमा खुशी व्यक्त गरे।

मुद्दामा हुमागाईंसहित मिलनकुमार विष्ट, कमला वि.एम., भरतप्रसाद बन्जारा, सुनिलकुमार सिंह, पुजन कोईराला, शैलेश ढकाल, विपुल सुवेदी, ब्रजेश अर्याल, सागरकुमार घिमिरे, उदेश भट्टराई, रमेश निरौला, सुरेन्द्र थापा, हिमाल पौडेल, लंकबहादुर केसी, भिमप्रसाद न्यौपाने, टंकप्रसाद ढकाल, भोजप्रसाद तिमल्सिना, मदनप्रसाद अधिकारी, गौतमप्रसाद खनाल, रामप्रसाद भट्ट, बालकुमार बास्तोला, मिनु निरौला र पुनम निरौला÷अनिलकुमार वि.एम.लाई प्रतिवादी बनाइएको थियो।

Exit mobile version