Site icon Tukinetwork.com

काभ्रेमा स्वास्थ्य बीमा सेवा अस्तव्यस्त : समन्वय समितिको अगुवाइमा सरोकारवालासँग छलफल

श्रावण १३, मंगलबार, २०८२
काभ्रेपलाञ्चोक । धुलिखेल अस्पतालबाट स्वास्थ्य बीमा सेवा हटाइएपछि बीमितहरू अन्योलमा परेका छन् भने जिल्लामा सेवा प्रवाह अस्तव्यस्त बन्दै गएको छ। यस अवस्थाप्रति चासो जनाउँदै जिल्ला समन्वय समिति काभ्रेले सरोकारवालासँग विशेष छलफल आयोजना गरेको छ।

समन्वय समिति प्रमुख दीपक कुमार गौतमको अध्यक्षतामा भएको छलफलमा स्थानीय तहका जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, जनस्वास्थ्य कार्यालयका प्रमुख, स्वास्थ्य बीमा बोर्ड काभ्रेका प्रतिनिधि, पालिका स्वास्थ्य शाखाका प्रतिनिधिहरू, राजनीतिक दलका प्रतिनिधिहरू र सञ्चारकर्मीहरू सहभागी थिए।

नेपाल सरकारले २०८२ श्रावण १ गतेदेखि धुलिखेल अस्पताललाई बीमा सेवा अन्तर्गतको पहिलो सेवा बिन्दुबाट हटाएपछि, बीमित नागरिक अन्योलमा परेका छन्। हाल स्वास्थ्य बीमा बोर्ड काभ्रेले पाँच स्थानलाई प्रथम सेवा बिन्दुका रूपमा तोकेको छ:

1. मेथिनकोट प्रादेशिक अस्पताल, नमोबुद्ध

2. सुन्थान प्राथमिक सेवा केन्द्र, पनौती

3. खोपासी प्राथमिक सेवा केन्द्र, पनौती

4. पाँचखाल प्राथमिक सेवा केन्द्र

5. धुलिखेल स्वास्थ्य केन्द्र

नीति अनुरूप समाधान खोज्नुपर्नेमा जोड

छलफलमा बोल्दै प्रमुख दीपक गौतमले, “यो हठात् रूपमा उत्पन्न समस्या होइन, सरकारी नीति अनुसार लागू गरिएको व्यवस्था हो,” भन्दै सबै सरोकारवालाले संयमपूर्वक विधि र प्रक्रियामा टेकेर समाधान खोज्नुपर्ने बताए।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले अनावश्यक रेफरल तथा परीक्षणप्रति आलोचना गर्दै प्राथमिक सेवा केन्द्रबाटै सेवा प्रवाह सुनिश्चित गर्नुपर्ने बताए। “जथाभावी परीक्षण गराउने प्रवृत्ति नागरिकमा देखिएको छ, यसमा सुधार आवश्यक छ,” उहाँले भन्नुभयो।

सेवा केन्द्रहरू सूचिकरणको प्रक्रियामा

स्वास्थ्य बीमा बोर्ड काभ्रेका संयोजक मुना निरौलाले हाल जिल्लामा सूचिकृत सेवा प्रदायकहरूबाहेक अन्य संस्थाबाट बीमा सेवा लिन नमिल्ने बताइन्। उहाँले अन्य पालिकामा रहेका स्वास्थ्य संस्था तथा सेवा केन्द्रहरूलाई सूचिकरण प्रक्रियामा आउन आग्रह गरिन्।

हाल धुलिखेल र पाँचखाल नगरपालिका बाहेक अन्य सेवा केन्द्रहरूबाट रेफरल सेवा सुरू भइसकेको छ। तर ती केन्द्रहरूमा भौतिक संरचना र जनशक्ति अभाव रहेको गुनासो उठाइएको छ। प्राथमिक सेवा केन्द्रका प्रतिनिधिहरूले सेवा प्रवाह सहज बनाउन स्थानीय सरकारसँग जनशक्ति र पूर्वाधार उपलब्ध गराउन माग गरेका छन्।

लाभग्राहीको प्रश्न : सेवा विस्तार कहिले?

कार्यक्रममा सहभागी लाभग्राहीहरूले पाँचखाल र धुलिखेलमा सेवा सुरु गर्न ढिलाइ हुनुको कारण के हो भनेर प्रश्न उठाएका थिए। जवाफमा पाँचखाल नगरपालिका उप–प्रमुख सुर्यमाया दनुवार र धुलिखेल नगरपालिका उप–प्रमुख निराजन जंगमले सेवा विस्तार क्रमिक रूपमा अगाडि बढिरहेको जानकारी दिएका थिए।

Exit mobile version