पुस १३ शनिबार ,२०८१
काभ्रेपलान्चोक । पनौति नगरपालिकाको आयोजना र काभ्रे सेवा समाजको संयोजनमा रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनिकरण विषयक अन्तरक्रिया सुरु गरिएको छ। पनौती नगरपालिका हुँदै बग्ने राेशी खाेला जलाधार र खानी दुबै प्रकृतिले भरिपुर्ण रहेको छ।
गत असाेजमा आएकाे अविरल वर्षाले पुर्याएकाे क्षति पश्चात् राेशी खाेला खानी कि पानी भन्ने विषयमा चर्चा चल्न थालेकाे छ । खानी( बालुवा राेडा ,गिट्टी ) पानी ( यहाँकाे पानीले मानवीय र पर्यावरणमा) पुर्याएकाे सकारात्मक पक्षकाे बहस हुनु स्वभाविक मान्न सकिन्छ । तर पनौती नगरपालिकाले “रोशी खोला जलाधार संरक्षण तथा विपद् न्यूनिकरणका उपाय” लाई विषय बनाएर जलाधार क्षेत्र घाेषणा गर्ने पहलकदमी अगाडि सारेकाे हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा बाेल्दै जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले खानी र पानी दुबै महत्त्वपूर्ण रहेको धारणा राख्नु भएको छ। उहाँले भन्नुभयो ,` प्राथमिकताका आधारमा पानी पहिलो र पानीलाई असर नपर्ने गरि खानीलाई पनि संचालन गर्नु पर्छ। नगरकाे मुख्य आमदानीकाे स्राेत खानी भएकाले पानीको नाममा खानी बन्द गर्ने चेष्टा गर्नु घातक हुन सक्छ। ´ मानवीय स्वास्थ र पर्यावरणलाई ख्याल गर्दै उचित मापदण्डकाे पालन गरि त्यसबाट राम्रो आयस्रोत वृद्धिमा गर्न सकिने गौतमको तर्क छ।
खानीकाे पक्षमा वकालत गरिरहँदा खानी ब्यवसायीसँग मिलेर काम गरे भन्ने आराेप लाग्ने गरेकाे स्मरण गर्दै गौतमले गट्ट खेलेर राजनीतिमा नआएकाे र संघर्षको इतिहास आ- आफ्नो रहेकाेले प्रमाणित हुन नसक्ने आराेप नलगाउन सराेकारवालाहरुलाई चेतावनी दिनु भयो ।
प्रमुख गौतमले खानी संचालन गर्ने ठाउँलाई खानी क्षेत्र घाेषणा गरी बस्ति स्थानान्तरण गर्ने याेजनालाई महत्वकांक्षी बनाउन सुझाव दिनु भएको छ। विदेशमा समुन्द्र माथि ठुला शहर बसाइएकाे उदाहरण दिदै उहाँले माष्टर प्लान गरेर दिर्घकालीन याेजना बनाउदा सफल भइने तर्फ ध्यान दिन जाेड दिनु भएको थियो । याेजना नबनाउने र सानाे कुरामा पनि डराएर बस्ने प्रवृतिले अबकाे ५० वर्ष पनि अगाडि बढन नसक्ने भन्दै सम्बन्धित निकाएकाे धारणा प्रष्ट हुनु पर्ने बताउनु भएको छ।

