बिचार/ब्लग
बंगलादेशको क्रान्तिको सन्देश राज्य,शक्ति र जनमत अस्थायी बिषय हो

लेखक : कृष्ण कुमार विश्वकर्मा , २२ साउन
जनमतबाट प्राप्त शक्तिको दुरुपयोग भयो भने,जनताले नै खोस्ने सामर्थ्य राख्छन। बंगलादेशको। बंगलादेशको राजनैतिक ईतिहासमा हसिना परिवारको उपस्थिती महत्वपुर्ण हुदाहुदै पनि अवसरमा पुर्वाग्रह र शक्तीको दुरुपयोगबाट उत्पन्न परिस्थितिको सामना गर्नै नसक्ने गरि युवा-विद्यार्थीले क्रान्ति नै गरे। बंगलादेशी युवाहरुमा क्रान्तिकारी रातो सलाम साथै गहिरो एक्यवद्धता छ।
विद्रोह धेरै योजना र तयारीले हुदैन। युवाहरुको आवाजलाई सामान्य मान्दा ०६२/६३ मा नेपाल,केही अगाडि पाकिस्तान,श्रीलंका र अहिले बंगलादेशको शासकले राम्रो सबक सिकेको हुनुपर्छ।
यसै पनि युवाहरु क्रान्तिकारी हुन्छन नै। दक्षिण एसियामा क्रमश आएको क्रान्तिको लहरले हाम्रो देशलाई पनि राम्रैसंग तरंगित गरेको छ। जम्मा २ वटा मुख्य एजेण्डामा आन्दोलित युवा-विद्यार्थीले जसरी बंगलादेशको शासकको शत्ता च्युत गरे,हाम्रो देशमा यस्ता सयौं मुद्वाहरु छन। हाम्रोमा पनि कार्यकर्ता लाई रैति मान्ने र जनता लाई वेवकुफ ठान्ने गंभिर गल्ति पटक-पटक दोहोर्याई रहेका छन।
व्यक्तिवाद,परिवारवाद र कृपावादवाट आक्रान्त नेपाली राजनितीले कतै यस्तै आन्दोलनको माग गरिरहेको त छैन? प्रश्न गर्नै नसक्ने आफ्ना निजी लठैतहरुलाई भर्ना गरि पार्टी कब्जा गर्ने र मिठा गुलिया आश्वासन बाँडेर प्राप्त शक्तीको आडमा जनतालाई नै दमन गर्ने शासकहरुलाई पसिना छुटेको हुनुपर्दछ।छैन भने पनि प्रश्न गर्न नछोडौ। प्रश्नको सहि उत्तर खोज्नेहरु जवाफदेही हुन्छन भने आावाज दबाउनेहरु आफ्नै भुमिवाट यसैगरी लखेटिन्छन ।
०६२/६३ मा नेपालमा पनि जम्मा माघ १९ को शाही कदम सच्याउन आन्दोलनरत ७ दलहरुका साथमा जब लाखौ युवा-विद्यार्थी हरु सडकमा उत्रिए,परिस्थितीमा भारी परिवर्तन भयो र सदाका लागि राजतन्त्रको अन्त्य भयो। तर आज त्यो परिवर्तनमा योगदान गरेका पहिलो पुस्ताका शिर्ष नेताहरुबाट जनता आजित भैसकेका छन।
सत्तालाई म्युजिकल चियर बनाएको हालको नेतृत्वपंतिले जनतामा थप नैराश्यता वृद्वि गराई रहेको छ।
शिक्षा-स्वास्थ्यमा चरम व्यापार छ,प्रहरी,प्रशासन र अदालतमा खुल्लमखुल्ला भ्रष्टाचार संस्थागत छ। राजनैतिक दल भ्रष्ट हरुको केन्द्र बन्दै गैरहेको छ। रोजगारी र सुशासन एकादेशको कथा भैसकेको छ। वडा देखि सिंहदरवारका अधिकारीहरुको जीवन द्रुत गतिमा फेरीदो छ भने निहत्था युवाहरु दिनदिनै संख्यामा वृद्वी गर्दै हरियो पासपोर्ट बाेेकेर सपनाको दुनियाँमा उडिरहेका छन। थाहा छैन सपना पूरा गरेर फर्कन्छन कि बाकसमा फर्कन्छन।
पैसाले न्याय खरिद गरेको छ,सिष्टममाथी नियन्त्रण राखेको छ।खानेपानी समिती देखि ठुला अन्तर्राष्ट्रिय परियोजनाहरुमा पुरै सेटिङ्ग नै छ। कुनै निकायले पैसा र पहुच विना काम नै गर्दैन।।
दलालपुँजीवादले व्यवस्था नै कब्जागर्न खोज्दैछ। । सवै दलहरुमा आफ्ना ऐजेण्टहरु भर्ति गरेको छ र ती जागिरेहरु त्यो जिम्मामा ईमान्दार भएर लागिरहेका छन। यस्तो निराशा र आक्रोशको बीचमा छिमेकी देशमा घटेको यो घट्नाले पक्कै पनि हामी युवाहरुको आक्रोशलाई संगठित गर्न सक्दछ। यो तर्फ हाम्रा शासकको ध्यान पुगेको छ कि छैन?
अझै पनि अवसर छ,सच्चिने कि सक्किने?
सत्ताको लुछाचुडी,व्याप्त भ्रष्टाचार,जताततै कमिशनको जालो,सबैतिर सेटिङ्ग,ढिलासुस्ती र अनियमितताले बढ्दो आक्रोशलाई कमजोर आक्ने ब्लण्डर गल्ति नगरियोस।
जब युवाहरु एयरपोर्टबाट माईतिघर तर्फ आउने अठोट गर्नेछन। त्यो शक्तिलाई दुनियाँको कुनै शासकले रोक्न सक्ने छैन। जति जनतालाई दिए त्यो भन्दा बढी राज्येले व्याजसहित फिर्ता गरिसकेको पहिलो पुस्तालाई अब लोभ र आशक्ति देखाउने भन्दा त्याग गरेर असल अभिभावक बन्न आदर सहित अनुरोध छ।
पहिलो पुस्ता जवरजस्त भ्रममा छ कि हामी नभए देश चल्दैन।अझै प्रभावकारी ढंगले चल्नेछ। बदलिँदो समयले थप एडभान्स पुस्ता जन्माईरहन्छ। त्यसैले। त्यसैले स्वच्छिक अबकाश वा हालको प्रवृतीमा व्यापक रुपान्तरण जरुरी छ अन्यथा हिजोको योगदान लाई समेत बिर्सैर जनताले फर्किनै नसक्ने गरि लखेट्ने छन।
धेरै सजिलो र व्यवस्थित ढंगले दुनियाँका धेरै कमजोर मुलुकहरुले छोटो समयमा तरक्की गरेको छ र त्यहाका जनता हिजो भन्दा खुशीका साथ बाँचिरहेका छन।
तर हाम्रो स्रोत र साधनले भरिएको देशलाई प्रयोगशाला बनाईएको छ। जति सरकार बने केवल कतिओैं भन्ने परिचय मात्र बनाए। नगण्य केही थान बाहेक सबै भएको-नभएको जनताले अनुभूति गर्नै सकेनन। जति उत्साहित भएर जनताले चुनावमा भाग लिन्छन त्यो भन्दा बढी निराशामा बाँकी समय बिताउने नियती बन्न जान्छ।
हरेक युवाले आजको नेपाललाई यसैगरी बुझेको छ र त्यो बुझाई संगठित भयो भने के होला? तसर्थ जनता र देशको स्वार्थलाई शिरमा राखेर काम गरौं।
यति धेरै समस्याहरु छन भनेर ईंगित गर्दैगर्दा समाधानको गुन्जायस सकिएको हो त?
कदापी होईन,जनताले ठूलो बलिदानवाट ल्याएको यो व्यवस्था लाई निष्प्रभावी गराउन अँध्यारो कोठाहरुमा षडयन्त्रको तानावानाहरु बुनिदै छ। यो व्यस्थालाई जनताको हितमा भरपुर उपयोग गर्न सकिन्छ। सात सय ५३ पालिका छ,सबै अधिकार सम्पन्न छन। तिन तहकै सरकारहरु मिलेर काम गर्नेहो भने एयरपोर्टमा देखिने युवाहरु खेत-बारिमा देखिने छन।मुख्य श्रमशक्ति बेचेर कुनै देशले प्रगती गरेको छैन।
हरेक एक आर्थिक वर्षमा निश्चित संख्यामा युवाहरुलाई रोजगारी श्रृजना गराउने अठोट गरौं। शिपका आधारमा उत्पादन संग जोड्न प्रोत्साहन गरौं,बजारको व्यवस्था गरौं र संरक्षण गर्ने कामको अनुभूति भयो भने हामी युवाहरु आफ्नै देशमा खुशीले बस्नेछौं।
बढ्दो शहरीकरणलाई नियन्त्रण गर्ने,जमिन वाँझो राख्न नपाउने कानुन निर्माण गर्ने। वा राज्यले अधिकरण गरि उत्पादनसंग जोडिन चाहने युवाहरुलाई न्युनतम शुल्कमा लिजमा दिने व्यवस्था गरौं।
हाम्रा जमिन जताततै बाँझो छ तर वर्षैनी खरबौंको खाद्यान्न हामी आयात गर्छौ। यो प्रवृतीले कहिल्यै समृद्धि आउदैन।
शैक्षिक क्षेत्रमा व्यापक परिवर्तन जरुरी छ। स्थानिय स्रोत साधनको उपयोगमा केन्द्रित पाठ्यक्रम भयो भने त्यसले परिणाम दिन्छ। पृथ्वी नारायण शाहको जन्म-मृत्यु नजानेर फेल हुने भन्दा हिमालको फेदमा पाईने जडिबुटीको शिक्षा दिन सकियो भने आर्थिक जिवनमा पास हुन सक्छ। र यस्तै स्वरोजगार पंतिले मात्र राष्ट्रिय पुँजी निर्माणमा प्रत्यक्ष योगदान गर्न सक्दछ। जिवन उपयोगी पाठ्यक्रम तयार गरि शिक्षा र स्वास्थ राज्यको मातहतमा निशुल्क बनाउने। हरेक परियोजना हरुमा लाभान्वित जनतालाई अंशियारको व्यवस्था गर्ने।
हरेक तहका व्युरोक्रेशीलाई करार सम्झौतामा काम गराउने। नेता कर्मचारी सबैको आम्दानी र संम्पतीको कडाईका साथ अनुगमन गर्ने। कतै बदमाशी देखिए सबै सम्पती राष्ट्रियकरण गर्ने। यसको सुरुवात २०४७ पछिका सबै नेता-कर्मचारीहरुको संम्पति छानबिन गर्ने।
यति गर्न सकियो भने राज्य बलियो हुन्छ। श्रम सम्मानित बन्छ,उत्पादनमा आत्मनिर्भरता बढ्छ। आयात घट्छ र निर्यात बढ्छ। स्थानिय कच्चापदार्थमा आधारित उद्योगहरु खुल्छन।रोजगारी बढेर जान्छ। जवाफदेही राज्यप्रती जनताको मोह बढ्छ।
संस्थागत जस्तै बनेको यो विकृती र विसंगतीको जालो फोड्न सजिलो त छैन तर असंभव पनि होईन। त्यस्को लागि हाम्रो प्रतिबद्वता र प्रवृतीमा व्यापक रुपान्तरण जरुरी छ।
अन्यथा यस्तै राज्य र शासकहरु एकातिर र व्यापक निराश र आक्रोशित युवापंति अर्कोतिर हुने अवस्था भयो भने शेख हसिना जस्तै अर्कै मुलुकमा सुरक्षा खोज्न भाग्नु पर्ने दिन आउन सक्छ।
त्यसैले बंगलादेशको आन्दोलनको सन्देसलाई नजरअन्दाज होईन यसबाट गहिरो पाठ सिकौंर बदलिंउँ नभए बाटो खाली गरौ।