बिचार/ब्लग
कविता : मन,माया र परिवर्तन

मन ,माया र परिवर्तन
– भुवन शिवाकोटी चौघरे
अँध्यारोमा
मैन बत्ती बालेउ
सायद
ख्याल भएन
मैन बत्ती झैं जल्नुको पीडा
वा
सलाई जसरी
जलाएर सकिनुको खुसी ।
सलेदो सल्किएपछि
मैन पग्लिदै गयो
उज्यालो भो
तर
तिम्रो अँध्यारो मन
पग्लिएर
खै
अनुहारमा उज्यालो देखिएन ।
मेरो दृष्टि छलिएकाे छैन
च्वास्स छोएर
मौनताको बन्देज हटाउन
बत्तीको निला शिखा लम्किदै छन्
तिमी भएतिर ।
तर तिमीलाई
एकोहोरिएको देखेपछि
भतभति मन पोलेर
म
हेरिरहेको छु ।
एक पटक
मात्र एक पटक
आफैलाई जलाएर देखाउँ
तिम्रो मौनता कसरी टुट्छ
र
कति चम्किन्छ
तिम्रो अनुहार ।
मलाई हेर्नु छ
अँध्यारा छायाँहरू कसरी
परिवर्तन हुन्छन
मायामा ।
काठमाडौ