पुस , २५
काठमाडौं । वरिष्ठ लेखक तथा साहित्यकार खगेन्द्र संगौलाले सरकारले पुस २७ गते पृथ्वी जयन्तीको उपलक्ष्यमा विदा दिने गरेको निर्णय प्रती आपत्ति जनाउनु भएको छ ।
लेखक संगौलाले सामाजिक संजाल मार्फत २७ गते सरकारले दिने भनिएको सार्वजनिक विदा पश्चगामी निर्णय भएको बताउनु भएको हो । उहाँले सामाजिक संजाल मार्फत यस वर्ष पुस २७ मा विदा दिने सरकारले आगे आगे साल कति दिन राजा महाराजाकाे दिवसमा विदा दिने हुन भन्न नसकिने भन्दै आलोचना गर्नु भएको हो ।
गणतन्त्रको नारा लगाउदै राजतन्त्र विरुद्ध खराे रुपमा आन्दोलनको विभिन्न चरणमा सडक र संचारमाध्यमबाट बुलन्द आवाज उठाउनु भएका संगौलाले आक्राेश व्यक्त गर्दै व्यङ्ग्य शैलिमा लेख्नुभएको छ -” सत्ताशीन बडे दादाले जसरी पनि सत्तामा टिक्नकाे लागि पश्चगामी तत्वलाई काँधमा बाेकेर हिड्नु भएको छ। पश्चगामीलाई काँधमा चढाएर यसपाली पुस २७ गते विदा दिनुभयो । यो वर्ष २७ गते र आगे साल पुस १ गते पनि विदा देलान भनी उहाँले आश्चर्य व्यक्त गर्नु भएको हो ।
सामाजिक संजालमा उहाँले लेख्नुभएको छ -” सत्ताशीन बडे दादाले झन आगेसाल श्रीमान् गम्भीर नेपाली गाउन सुरु गर्लान् । अनि झन आगे साल के के गर्लान् भनी प्रश्न गर्नु भएको छ। उहाँ लेख्नु हुन्छ “- यो सरकार मान्यतायुक्त लाेकतान्त्रीक गठबन्धन किमार्थ हाेइन्। यो आफैमा पश्चगामी हाम झ्वाम हठबन्धन हो । “
राजतन्त्र विरुद्धको २०६२/ ६३ काे आन्दोलनमा पटकपटक पक्राउ पर्नु भएकाे उहाँ अहिले पनि सरकारका गलत निर्णय र कार्य प्रती असन्तुष्टि जनाउदै सडक आन्दोलनमा उत्रने गर्नु भएको छ। संगौला लगायतका टिम सडकमै आन्दोलनमा आईसकेपछि सरकार पनि कतिपय निर्णयबाट पछि हटने गरेका थुप्रै उदाहरण छन्।

