काठमाडौं ,
नेकपा एमालेका नेता प्रदीप ज्ञवाली प्रतिनिधिसभा सदस्यका लागि गुल्मी-१ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । उक्त क्षेत्रबाट ज्ञावलीकाे प्रतिस्पर्धी नेपाली कांग्रेसका डा. चन्द्र भण्डारी ।
२०५६ सालको प्रतिनिधि सभा र २०६४ को पहिलो संविधानसभा निर्वाचनमा ज्ञवालीले भण्डारीलाई पराजित गर्नु भएको थियो । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भण्डारीले ज्ञवालीलाई हराउनु भयो । २०७४ को आम निर्वाचनमा फेरि ज्ञवालीले भण्डारीलाई निकटतम प्रतिद्वन्द्वीमा सीमित पारिदिनु भयो ।
डा. भण्डारीसँगको यो पाँचौं संसदीय प्रतिस्पर्धामा ज्ञवाली आलोपालोको चक्र तोडेर जित निकाल्न चाहानु हुन्छ , तर यसपटक ज्ञावलीलाई सघाउन वाम गठबन्धन छैन । बरु, डा. भण्डारीलाई सत्ता गठबन्धनको साथ छ ।
गुल्मीको बलेटक्सारमा जन्मिएका ६० वर्षीय प्रदीप ज्ञवाली पारिवारिक वातावरणका कारण किशोरकालबाटै राजनीतिमा लाग्नु भएको हो । ज्ञावलीकाे औपचारिक राजनीतिक आबद्धता भने २०३० सालमा अखिल नेपाल क्रान्तिकारी विद्यार्थी संघको प्रारम्भिक कमिटीबाट भयो ।
त्यसपछिको राजनीतिक आन्दोलनका क्रममा ११ वर्ष भूमिगत भएका ज्ञवाली पटक-पटक पक्राउ पर्नु भएको थियो ।
२०३४ सालमा नेकपा (माले)को गुल्मी-पाल्पा जिल्ला कमिटी सदस्य बनेका ज्ञवाली २०४६ सालमा गुल्मी-अर्घाखाँची जिल्ला कमिटी सचिव, २०५१ सालमा नेकपा (एमाले)को लुम्बिनी अञ्चल कमिटी सदस्य, २०५४ मा केन्द्रीय कमिटी सदस्य, २०६७ सालमा पोलिटब्यूरो सदस्य, २०७१ सालमा सचिवमा चयन हुनुभएकाे थियो ।
२०७८ मंसिरदेखि एमालेको उपमहासचिवको जिम्मेवारीमा रहेका ज्ञवाली २०६३ सालमा पर्यटनमन्त्री र २०७४ सालमा परराष्ट्रमन्त्री बन्नु भयो । राष्ट्रिय राजनीतिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको कठोर प्रतिरक्षामा उत्रिने गरेका ज्ञवाली आफूलाई सामाजिक एकता र समानता पक्षधर सम्झनु हुन्छ ।
साहित्यिक कर्ममा पनि क्रियाशील उनका उपन्यास, कथा संग्रह, कविता संग्रह, निबन्ध र समालोचना प्रकाशित छन् ।
चुनावी अंकगणित
२०७४ को प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा गुल्मीका दुई वटै क्षेत्रमा एमाले-माओवादी गठबन्धनले जितेको थियो ।
गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा गुल्मी-१ मा दलगत रूपमा एमालेले ३५ हजार ७०१, कांग्रेसले ३१ हजार २९४, माओवादीले ४ हजार ९७०, राष्ट्रिय जनमोर्चाले १६०० र एकीकृत समाजवादीले ४९७ मत पाएका छन् ।
भण्डारीसँगको आलोपालो तोड्न ज्ञवालीका लागि चुनावी अंकगणित अनुकुल मानिएकाे छैन्।

