बिचार/ब्लग

तिहार उज्यालोकाे पर्व हो

वदन कुमार भण्डारी

नेपालीहरूको महान चाड तिहार सुरु भएको छ । तिहार उज्यालोको चाड हो । तिहार फूलको चाड हो । फूल कोमलता र सौन्दर्यको प्रतीक हो । यसरी तिहार समग्रमा पारिवारिक–सामाजिक पुनर्मिलन, सद्भाव अभिवृद्धि, समुन्नत÷समृद्ध भविष्यको कामनाको चाड हो ।

तिहारमा पिङ खेल्ने, दीपावली गर्ने, देउसी–भैलो खेल्दै सेलरोटी आदि मिष्ठान्न खाई रमाइलो गरी तिहार मनाउने गरिन्छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मका पाँच दिन मनाइने भएकाले यसलाई यमपञ्चक भन्ने गरिन्छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाईटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक भनिएको हिन्दू शास्त्रमा उल्लेख गरिएको छ । यमपञ्चकमा क्रमशः काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन र भाई पुजा गरिन्छ।

तिहार पारिवारिक रूपमा दिदीबहिनी र दाजुभाइको पुनर्मिलनको, सामाजिकरूपमा सद्भाव अभिवृद्धिको चाड हो । दीपको उज्यालोमा धनकी देवी लक्ष्मीको पूजाआराधना हुन्छ । तिहारको देउसी–भैलो सामाजिक सद्भाव र पुनर्मिलनको प्रतिक हो । दीपावलीको उज्यालोले स्वतः उज्ज्वल भविष्यको कामना गर्छ ।

महान चाड तिहारले समस्त नेपालीमा सद्भाव र सहअस्तित्व अभिवृद्धि गरोस् । सबैको मन फूलजस्तै कोमल र सुन्दर बनोस्, दीपावलीको दीपजस्तै उज्यालो बनोस्, समृद्धिको ढोका खुलोस् । समस्त नेपालीमा तिहारको हार्दिक शुभकामना ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *