Site icon Tukinetwork.com

नेपालमा कोरोनाविरुद्धको भ्याक्सिन चाँडै ल्याउन सरकारद्वारा पहल

काठमाडौं, ६ भाद्र । नेपालमा चाँडै कोरोना भाइरसविरुद्धको भ्याक्सिन ल्याउन पहल भइरहेको स्वास्थ्य मन्त्रालयका विशेषज्ञ डा. रोशन पोखरेलले खुलासा गरेका छन् । उनले भ्याक्सिनका लागि बजेटको समेत जोहो गरिसकिएको खुलाए ।

‘कोरोनाविरुद्धको भ्याक्सिनको लागि बजेट छुट्याएर राखिएको छ,’ डा. रोशन पोखरेलले आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको अन्तर्वातामा भने, ‘भ्याक्सिन चाँडै पाउनका लागि नेपाल प्राथमिकतामा पर्नुपर्छ भनेर लबिङ गरिरहेका छौं ।’ भ्याक्सिन खरिद गर्न आर्थिक जोहो भएको समेत खुलाए ।

रुसमा भ्याक्सिनको विकास भएको र अन्य देशमा पनि विकास भइसकेकाले छिटो र प्रभावकारीलाई नेपालमा ल्याइने समेत बताए । डा. पोखरेलले भने, ‘हामीले विश्व स्वास्थ्य संगठन र संयुक्तराष्ट्रसंघसँग भ्याक्सिनका लागि समन्वय गरेर पहल शुरु गरिसकेका छौं ।’

रुसमा भ्याक्सिनको विकास भएको र कतिपय देशमा विकासको चरणमा हुँदै विभिन्न देशले भ्याक्सिन खरिदको सम्झौता गरिसकेको अवस्थामा स्वास्थ्य मन्त्रालयको पछिल्लो भनाई सार्वजनिक भएको हो । यद्यपि, नेपालमा भ्याक्सिन कहिलेसम्म आइपुग्छ भन्नेमा भने सरकारले स्पष्ट पारेको छैन ।

रुसमा अक्टोबरबाट भ्याक्सिनको प्रयोग हुँदैछ भने छिमेकी देश भारतमा यसै वर्षको डिसेम्बरमा भ्याक्सिनको प्रयोग हुने भनिएको छ ।

Exit mobile version