Site icon Tukinetwork.com

२३ बच्चा अपहरण गरेर २३ करोड फिरौती माग्ने अपहरणकारी इन्काउन्टरमा मारिए

काठमाडौं। भारतको उत्तर प्रदेशको फर्रुखाबाद जिल्लास्थित मोहम्मदाबाद कस्बेमा २३ बालबालिकालाई बन्धक बनाउने सुभाष बाथमको प्रहरी कारबाहीमा मृत्यु भएको छ । कानपुर परिक्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालका अनुसार अपहरणकारी सुभाषको प्रहरी मुठभेडमा मृत्यु भएको छ भने सबै २३ बालबालिकालाई उद्धार गरिएको छ।

मोहित अग्रवालका अनुसार अपहरणकारीले प्रति बालक एक करोड रुपैयाँ फिरौती माग गरेका थिए । यसका साथै उनले आफूमाथि लागेको हत्याको आरोप पनि फिर्ता लिनुपर्ने माग राखेका थिए । अघिल्लो रात उनले एक बालकलाई रिहा पनि गरेका थिए ।

बन्धक बालबालिकालाई मुक्त गराउन एटीएसको कमाण्डो बोलाइएको थियो । साथै प्रहरीको थुप्रै अधिकारीहरु पनि घटनास्थलमा परिचालन भएका थिए । मोहम्मदाबाद तहसीलको करसिया गाउँमा जुन घरमा बालकलाई बन्धक बनाइएको थियो त्यो घर सुभाष बाथमकै थियो ।

प्रहरीका अनुसार सुभाष बाथम शातिर किसिमका अपराधी थिए र उनी कैयौँ पटक जेल पनि गएका थिए । उनीमाथि हत्याको मुद्दा समेत चलिरहेको छ । स्थानीयका अनुसार आफ्नी छोरीको जन्मदिनको बहानामा उनले गाउँका बच्चाहरुलाई घर बोलाएका थिए । त्यसपछि सुभाषले उनीहरुलाई घरमै बन्धक बनाएका थिए ।

साँझ एक महिला आफ्नो बच्चा लिन आएपछि सबै बालकहरु सुभाषको कब्जामा रहेको थाहा भएको थियो । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो । फर्रुखाबादका प्रहरी अधिकारी डा. अनिल कुमार मिश्रले भने कि प्रहरीको पूरा प्रयास सबै बच्चालाई सकुशल उद्धार गर्नु थियो । यस क्रममा केही प्रहरी भने घाइते भएका छन् । प्रहरीलाई देख्ने बित्तिकै सुभाषले फायरिंग सुरु गरेको र बम प्रहार गरेको प्रहरीको दाबी छ ।

Exit mobile version