धादिङ- खाल्डाखुल्डी बनेको नौबिसे–नागढुंगा सडकखण्डको कालोपत्रेको काम पुनः सुरु गरिएको छ। दसैंअघि सवारी रोकी कालोपत्रे सुरु गरे पनि अत्यधिक सवारी जामका कारण स्थगित गरिएको थियो। सडक विभागलाई सवारी चाप नहुने समयमा कालोपत्रेको काम गर्न अनुरोध गरे पनि ठेकेदारले अटेर गर्दै आइरहेका छन्।
सडक मर्मतले अत्यधिक सवारी जाम भएर बिरामीको मृ’त्यु समेत भएपछि दबाबमा परेको निर्माण कम्पनीका ठेकेदार सम्पर्क विहीन भएका थिए। दसैं सकिए लगत्तै मंगलबार मध्यान्नदेखि त्रिभुवन राजपथको कानाकोटबाट मर्मतको काम पुनः सुरु गरिएको छ। मर्मत को काम जतिसक्दो चाँडो सक्न ठेकेदार कम्पनीले पहिलेभन्दा बढी कामदार परिचालन गरेका छन्।
सडक विभागले बिहान १० बजेदेखि नै कालोपत्रेको काम सुरु गर्ने भनेर प्रहरी, प्रशासनलाई जानकारी दिएको थियो। टाढाबाट आएका रात्रि बसहरू यही समयमा काठमाडौं प्रवेश गर्दा सवारीको लाम लाग्ने भएका कारण विभागले दिउँसोको समयमा मात्रै काम गर्न अनुरोध गरेको हो। वर्षौंदेखि जीर्ण नेपालकै पुरानो त्रिभुवन राजपथ अन्र्तगत नौबिसे–नागढुंगा पार गर्दै यात्रुहरू देशका ६५ भन्दा बढी जिल्ला आवात जावत गर्छन्।
