काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच होटल सोल्टीमा भएकाे भेटवार्ता लगत्तै द्विपक्षीय १७ वटा सम्झौता-पत्रमा हस्ताक्षर भएकाे छ । सम्झौतामा रसुवागढी– काठमाडौं र तातोपानी– काठमाडौँ सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग, मदन भण्डारी विश्व विद्यालय, कर्णाली करिडोर निर्माण लगायतका विषय समेटिएका छन् ।
केरुङ–काठमाडौँ रेलमार्गको डीपीआर तहको अध्ययनको विषय पनि सहमति पत्रमा रहेकाे छ । वार्तामा नेपालका तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, अर्थमन्त्री युवराज खतिवडा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्प कँडेल, मुख्यसचिव, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार लगायत ३० जनाको टोली सहभागी छ।
२३ वर्षपछि भएको चीनका राष्ट्रपति सीको नेपाल भ्रमणले चीन र नेपाल बीचको सम्वन्धलाई थप उचाईमा पुर्याउन सहयोगी हुने र नेपालको भौतिक पूर्वाधार विकासमा निकै फलदायी हुने अपेक्षा गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपालमा रहनु भएका राष्ट्रपति सी आज अपरान्ह स्वदेश फर्कनुहुने कार्यक्रम रहेको छ ।
