जादुमय स्वरका कारण रातारात चर्चामा आएकी रानु मंडलले घर पनि पाएकी छिन्। बलिउड अभिनेता सललमान खानले मंडललाई ८८ लाखको घर गिफ्ट दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। मंडलको स्वरबाट प्रभावित भएर सलमानले उनलाई ८८ लाखको घर दिएका हुन्। सलमानले उनलाई घरमात्र दिएनन्, अब आउने आफ्नो फिल्म दबंग ३ का लागि उनीसँग एक गीतको रेकर्डिङ पनि गर्ने भएका छन्। तर यस बारेमा सलमान र रानु दुबैले केही बताएका छैनन्।
यसअघि गायक हिमेश रेशमियाले रानुको स्वरबाट प्रभावित भएर एक गीत रेकर्ड गरेका छन्। यो गीत हिमेशको आउँदो फिल्म हार्डी र हिरमा शमावेश गरिएको छ। हिमेशले रानुका साथ रेकर्डिङ भएको गीत सामाजिक सञ्जालमा भाइरल बनेको छ। यसबारे सलमानका तर्फबाट आधिकारिक अभिव्यक्ति भने आइसकेको छैन।
पश्चिम बंगालको रानाघाट स्टेसनमा ‘एक प्यारका नग्मा है’ गाउँदै गरेको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएसँगै रानु चर्चित भएकी थिइन्। मिठो स्वरकी उनलाई धेरैले चर्चित गायिका लता मंगेशकर ‘जस्तै’ भने। रानु आफैंले पनि लताबाट प्रेरित भएको बताएकी थिइन्। त्यसैले उनलाई ‘रानाघाटकी लता मंगेशकर’ पनि भन्न थालिएको छ।
