सर्लाही। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले आफूलाई पक्राउ गर्नका लागि तयार रहन सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सिडिओ) र प्रहरी प्रमुख (एसपी)लाई आग्रह गरेका छन्। शनिबार सर्लाहीको दक्षिण–पश्चिम क्षेत्र स्थित गडहियाडु मरियामा आयोजित उखु किसानसँग अन्तरक्रियामा बोल्दै मन्त्री यादवले निकट भविष्यमा उखु किसानले चिनी उद्योगी बाट भुक्तानी नपाए आफू समेत किसानको नेतृत्व गरेर सडकमा उत्रने भएकाले त्यस्तो अवस्थामा पक्राउ वा अन्य कारबाही गर्नका लागि तयार रहन सिडिओ मोहन बहादुर जिसी र एसपी गोपालचन्द्र भट्टराईलाई व्यंग्यात्मक शैलीमा चेतावनी दिए।
‘वर्षौं देखि उखुको पैसा नपाएर पीडित बनिरहेका किसानलाई निकट भविष्यमै चिनी उद्योगीले भुक्तानी नगरे म किसानसँगै सडकमा आउने छु’, मन्त्री यादवले छेउमै रहेका प्रजिअ र एसपीप्रति ईंगित गर्दै भने, ‘त्यस्तो अवस्थामा कानून विपरित भए किसान भन्दा पनि मलाई कारबाही गर्न तयार रहनुस्।’
मन्त्री यादवले कार्यक्रममा उपस्थित उखु किसानलाई ढाडस् दिँदै निकट भविष्यमै चिनी उद्योगीबाट उखुको पैसा भुक्तानी हुने आश्वासन दिए । ‘तपाईंहरुको वर्षौं देखिको उखुको पैसा निकट भविष्यमै आउनु पर्छ’, मन्त्री यादवले भने, ‘यदि उद्योगीले पैसा दिएनन् भने, म तपाईंहरुको संघर्षको नेतृत्व गर्न पुनः यही भूमीमा आउने वाचा गर्दछु।’ याे खबर आजकाे नागरिक दैनिकमा छ ।
