भद्रपुर।प्रहरी, प्रशासन प्रमुखको एक आदेशमा जिल्लाका हरेक सरकारी कार्यालयहरूमा आफ्नो व्यक्तिगत जीवनसँग जोडिएको सम्पूर्ण कामकाज हुने जनविश्वास छ।यही जनविश्वासलाई चिर्दै झापाका प्रमुख जिल्ला अधिकारी (सिडीओ) जनक राज दाहाल जिल्लामै एक गतिलो उदाहरणको पात्र बनेका छन्। सवारी चालक अनुमति पत्रका लागि लिइने ट्रायल परीक्षामा प्रमुख जिल्ला अधिकारी दाहाल अनुत्तीर्ण भएपछि भनसुनका भरमा काम नहुने छर्लङ्ग भएको छ ।
बिर्तामोडस्थित यातायात व्यवस्था कार्यालय एक नम्बर प्रदेश मेचीबाट ‘बी’ वर्ग (कार, जिप, डेलिभरी भ्यान) को सवारी चालक अनुमति पत्र (लाइसेन्स) लिनका लागि प्रजिअ दाहालले गत मंगलबार यातायात कार्यालय मै पुगेर ट्रायल परीक्षा दिएका थिए । प्रजिअ दाहाल ट्रायल परीक्षामा अनुत्तीर्ण भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक होमप्रसाद अधिकारीले जानकारी दिए।
‘प्रजिअ साबले लिखित परीक्षा पास गरे पनि ट्रायल परीक्षामा फेल हुनु भयो’, उनले भने, ‘फेला भए लगतै प्रजिअ साबको प्रवेश पत्र ट्राफिक प्रहरीले परीक्षण स्थलमै च्याती दिए ।’ पछिल्लो समय सवारी चालक अनुमति पत्रको परीक्षामा अनियमितता र सेटिङमा लाइसेन्स वितरण गर्ने गरेको झापासहित देशभर नै गुनासो आइरहने भएकाले मैले पनि सुटुक्कै लाइसेन्सका लागि फारम भरेर परीक्षा दिन गएको प्रजिअ दाहालले बताए।
५५ वर्षीय प्रजिअ दाहालले भने, ‘तीन महिना गाडी सिक्यौँ, त्यसपछि लाइन्सेसका लागि आवेदन दियौँ, ‘तर, ट्रायल परीक्षामा एट चिन्हमै आफू असफल भइयो ।’ ट्रायलमा अनुत्तीर्ण भए पनि १५ दिनपछि पुनः ट्रायल परीक्षामा सामेल हुने उनले बताए । झापाका प्रमुख जिल्ला अधिकारीलाई कसले, कसरी फेल बनाउँदा रहेछन् भन्ने परीक्षास्थलमा धेरै थिए। यातायातमा फेल भएका मानिसले पनि अनुमतिपत्र (लाइसेन्स) पाउँछन् भन्ने धेरैको जनगुनासो सुनिन्थ्यो, त्यसो हुँदा आफैँ परीक्षार्थी बनेर गएको उनको भनाइ छ। ‘वास्त वमा परीक्षा ,परीक्षा नै सावित भयो’ दाहालले थपे। थाहखबरबाट साभार
